आयल निगमको एक वर्षको घाटा ५५ अर्ब

आयल निगमको एक वर्षको घाटा ५५ अर्ब


ग्लोब नेपाल
135
Shares

काठमाडौँ । मुलुकमा इन्धन आपूर्ति र कारोबारको एकाधिकार भएको नेपाल आयल निगमले एक आर्थिक वर्षमै ५५ अर्ब रुपैयाँ घाटा व्यहोरेको छ । सबै प्रकारका सञ्चिति कोष रित्तिएर आर्थिक वर्ष २०७८-०७९ मा यो आकारको अनुमानित घाटा व्यहोरेको निगम उच्च स्रोतले जनाएको छ ।

यस वर्षको प्रारम्भिक नोक्सानी इतिहासमै हालसम्मकै उच्च भएको निगमको दाबी छ । आव २०७७-७८ मा निगमले ४ अर्ब घाटा व्यहोरेको थियो । अघिल्लो वर्षसम्म आफ्नो सञ्चित कोषमा रहेको २६ अर्ब रकम खर्च गरेर पनि निगम अहिले ३५ अर्ब ऋणमा चलेको स्रोतको दाबी छ । गत वर्षको तुलनामा खपत र लागतमा उच्च वृद्धि हुँदा निगमको नोक्सान अनपेक्षितरुपमा बढेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको भारी वृद्धिसँगै इन्धनको लागत दोब्बरले बढ्नु, निगमलाई घाटा रहेको पेट्रोल र खाना पकाउने ग्याँसको बिक्री बढ्नु लगायतका कारणले निगमको वित्तीय अवस्थामा थप दबाब सृजना गरेको उनको भनाइ छ ।

आव २०७८-७९ मा नेपालले ३ खर्ब १० अर्बको पेट्रोलियम कारोबार गरेको थियो । जुन अघिल्लो वर्षको तुलनामा दोब्बर बढी हो । आव २०७७-७८ मा निगमले १ खर्ब ५८ अर्बको पेट्रोलियम पदार्थ खरिद गरेको थियो ।