द्रौपदी मुर्मुलाई राष्ट्रपतिको सपथसँगै २१ तोपको सलामी

द्रौपदी मुर्मुलाई राष्ट्रपतिको सपथसँगै २१ तोपको सलामी



नयाँ दिल्ली । भारतमा राष्ट्रपति निर्वाचित द्रौपदी मुर्मुले आज पद तथा गोपनियताको सपथ लिँदैछिन् । मुर्मुले सोमबार बिहान सवा दश बजे एक विशेष समारोहबीच पद तथा गोपनियताको सपथ लिनेछिन् ।
प्रधानन्यायाधीश एनवी रमन्नाले द्रौपदी मुर्मुलाई पद तथा गोपनियताको सपथ खुवाउनेछन् । त्यसपछि नयाँ राष्ट्रपतिले देशका नाममा सम्बोधन गर्नेछन् ।

सपथ समारोहअघि निवर्तमान राष्ट्रपति रामनाथ कोविन्द र राष्ट्रपति निर्वाचित मुर्मु एक औपचारिक समारोहमा संसदमा आइपुग्नेछन् । ६४ वर्षीय मुर्मु भारतको दोस्रो महिला र आदिवासी समुदायको पहिलो राष्ट्रपति हुन् । उनी भारतका १५औँ राष्ट्रपति हुन् ।

झारखण्डको गभर्नर भइसकेकी द्रौपदी मुर्मुले यस चुनावमा २ हजार ८ सय २४ पहिलो प्राथमिकता मत प्राप्त गरिन् । यसकाे मतभार ६ लाख ७६ हजार ८०३ हुन्छ। राष्ट्रपति निर्वाचित हुनका लागि उम्मेदवारले ५ लाख २८ हजार ४ सय ९१ मत ल्याउनुपर्छ । उनका प्रतिद्वन्द्वी यशवन्त सिन्हाले पहिलो प्राथमिकतामा १ हजार ८ सय ७७ मत प्राप्त गरे जसको मतभार ३ लाख ८० हजार १७७ रहेको छ ।