अर्थ मन्त्रालयको १४ जेठको सीसीटीभी फुटेज ‘रिकभर’, विश्‍लेषण गर्न विज्ञ बोलाइयो

अर्थ मन्त्रालयको १४ जेठको सीसीटीभी फुटेज ‘रिकभर’, विश्‍लेषण गर्न विज्ञ बोलाइयो


ग्लोब नेपाल
540
Shares

काठमाडौं । अर्थ मन्त्रालयले उपलब्ध गराएको हार्ड डिस्कबाट नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले जेठ १४ गतेको सीसीटीभी फुटेज ‘रिकभर’ गरेको छ ।

प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालाले फुटेज रिकभर गरेर संसदीय छानबिन विशेष समितिमा पठाएको हो ।प्रयोगशालाबाट प्राप्त भिडि‌ओ फुटेजहरू आज बिहान बसेको बैठकमा समितिका सदस्यहरुले हेरेका थिए । समितिका एक सदस्यका अनुसार प्रहरीको विज्ञ टोलीले जेठ १४ गतेको ५१ वटा भिडियो फुटेज रिकभर गरेर बुझाएको छ ।

उनले दिएकाे जानकारी अनुसार एउटा प्याकेजमा २५ वटा र अर्को प्याकेजमा २६ वटा क्लिपहरु प्रहरीले समितिलाई बुझाएको हो । ती क्लिपहरु केही सेकेन्डका छन् । राम्रोसँग स्पष्ट नदेखिने धुर्मैला पनि छन् । मान्छेहरु आउ-जाउ गरेको जस्तो देखिए पनि स्पष्ट देखिंदैन । समितिका ती सदस्यले भने, ‘रातिको दृष्यमा मान्छेहरूको अनुहार प्रष्ट चिनिएको छैन । यसलाई थप प्रष्ट पार्नका निम्ति हामीले विज्ञहरूसँग बसेर छलफल गर्ने निर्णय लिएका हौं ।’

समितिको बैठकमा प्रहरीले बुझाएको प्रतिवेदन खोलिए पनि त्यसको विश्लेषण भने विज्ञहरूबाटै गर्नुपर्ने भन्दै बैठक स्थगित गरिएको समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिए । ‘केही विषय प्राविधिक भएकोले फरेनसिक ल्याब विज्ञहरुबाट जानकारी लिनु पर्ने हुँदा अहिलेलाई बैठक स्थगित भयो,’ अर्यालले भने, ‘बेलुका चार बजे बसेर उहाँहरुलाई आमन्त्रित गरेर प्रतिवेदनका विषयमा विशेष जानकारी लिन्छौ ।’

सचिव अर्यालले प्रतिवेदनका विवरण आफूले अहिले नै भन्न नमिल्ने बताए । ‘समितिले लाहछाप लगाएर पठाएको प्रतिवेदन खोल्यौं र हेर्यौं । त्यसमा भएका विवरण अलि प्राविधिक विषय भएकोले विष्लेषण, अध्ययनकै क्रममा छ,’ अर्यालले भने ।

आज बेलुकी चार बजे बस्ने बैठकमा प्रहरीको फरेनसिक ल्याबका विज्ञहरुलाई बोलाइएको र बैठकमा उनीहरुले प्राविधिक कुराहरु स्पष्ट पार्ने अर्यालले जनाए । ‘बैठकमा उहाँहरुले प्राविधिक कुराहरु जानकारी गराउनुहुन्छ, त्यसपछि हामी निस्कर्षमा पुग्छौं,’ अर्याले भने ।

पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि बजेट बनाउने क्रममा अनधिकृत दुई जना व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराई करको दर हेरफेर गरेको आरोप लागेको थियो । त्यसपछि उनले राजीनामा दिएका थिए भने प्रतिनिधि सभाले उनीमाथि छानबिन गन विशेष संसदीय छानबिन समिति गठन गरेको थियो ।