काठमाडौँ । निर्वाचन आयोगले स्थानीय निर्वाचन २०७९ मा कुल ५ अर्बभन्दा बढी रकम खर्च भएको जनाएको छ ।
आयोगले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी निर्वाचनको परिणाम र खर्च सार्वजनिक गर्दै गत वैशाख ३० मा भएको निर्वाचनमा ५ अर्ब ४ करोड ३ लाख ९२ हजार ८६७ रुपैयाँ खर्च भएको जनाएको छ । आयोगले स्थानीय तह निर्वाचन २०७९ खर्चका हिसाबले विगतका निर्वाचनभन्दा मितव्ययी भएको दाबी समेत गरेको छ । ।
निर्वाचनका लागि आयोगलाई सरकारले ८ अर्ब ११ करोड रुपैयाँ निकासा गरेको थियो । त्यसमध्ये आयोगले खर्च गरेर बाँकी रहेको ३ अर्ब ६ लाख ८६ हजार १२४ रुपैयाँ फिर्ता गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार सचिवालयमा १ अर्ब २ करोड ६३ लाख १२ हजार १२९ रुपैयाँ, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा ३ अर्ब ५४ करोड, जिल्ला निर्वाचन कार्यालयहरूमा ४१ करोड ३३ लाख र मतपेटिका ढुवानीमा ४ करोड ५० लाख रुपैयाँ खर्च भएको छ ।
प्रवक्ता पौडेलले स्थानीय तह निर्वाचनमा प्रतिमतदान केन्द्र २ लाख २९ हजार ५७८ रुपैयाँ र प्रतिमतदाता २८४ रुपैयाँ खर्च भएको बताए । आयोगले गरेको खर्चमध्ये २० प्रतिशतमात्रै आयोगको सचिवालय अर्थात् केन्द्रीय कार्यालयबाट भएको र बाँकी सबै खर्च संघीय मोडेलमा तल्ला तहबाट खर्च भएको आयोगले जनाएको छ ।
प्रतिक्रिया