सरकारले ४ मंसिरमा चुनावको मिति तोके आश्चर्य नमान्दा हुन्छ: प्रमुख आयुक्त थपलिया

सरकारले ४ मंसिरमा चुनावको मिति तोके आश्चर्य नमान्दा हुन्छ: प्रमुख आयुक्त थपलिया


ग्लोब नेपाल
81
Shares

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सरकारले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति तोक्ने दावी गरेका छन् ।

स्थानीय तह निर्वाचनको परिणाम र खर्च विवरण सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा थपलियाले अब बस्ने मन्त्रिपरिषद बैठकले सो मिति तोकेमा आश्चर्य नमान्न पनि आग्रह गरे । ‘आयोगले सम्पूर्ण व्यहोरासहित एकैचरणमा प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन मंसिर ४ गते गर्न मिति सिफारिस गरिसकेको छ, अब मन्त्रिपरिषद्ले मिति तोक्न बाँकी हो,’ प्रमुख आयुक्त थपलियाले भने, ‘आउँदो मन्त्रिपरिषद् बैठकले मंसिर ४ गतेका लागि निर्वाचनको मिति तोक्यो भने त्यसलाई आश्चर्य नमान्दा हुन्छ ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगको सिफारिसअनुसारै सरकारले निर्वाचनको मिति तोक्ने अपेक्षा रहेको पनि बताए । उनले निर्वाचनको तयारीका सबै काम सुरू भइसकेको बताए । ‘आयोगले मंसिर पहिलो साताको मितिमा निर्वाचन गर्न परामर्श दिएको छ, आयोग त्यही मितिमा सरकारले निर्वाचन गर्छ भनेर ढुक्क छ,’ उनले भने, ‘सरकारले कहिले मिति तोक्छ भन्ने मात्रै हो, मलाई लाग्छ आगामी मन्त्रिपरिषद्को बैठकले मिति तोक्नेछ ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले संघ र प्रदेशको निर्वाचन स्थानीय तह निर्वाचनभन्दा कम खर्चिलो हुन सक्ने बताए ।