आगामी वर्ष विश्व अर्थतन्त्र झन् खराब हुन सक्ने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण

आगामी वर्ष विश्व अर्थतन्त्र झन् खराब हुन सक्ने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण


ग्लोब नेपाल
27
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२२ को तुलनामा २०२३ मा विश्व अर्थतन्त्र झन् खराब अवस्थामा पुग्ने प्रक्षेपण सार्वजनिक गरेको छ ।

आईएमएफले मंगलबार ‘वर्ल्ड इकोनोमिक आउटलुक’ प्रतिवेदन सार्वजनिक गर्दै विश्व अर्थतन्त्र थप संकटग्रस्त अवस्थामा गइरहेको देखाएको हो । ‘रुस–युक्रेन युद्ध, बढ्दो ऊर्जा र खाद्यान्न संकट, कोभिड रोकथामका लागि चीनले अन्तर्राष्ट्रिय व्यापारमा लगाएका कडा प्रतिबन्धलगायत कारण विश्व अर्थतन्त्र तीव्र गतिमा सुस्ताइरहेको छ,’ आईएमएफको प्रतिवेदनमा भनिएको छ, ‘माग र आपूर्तिको असन्तुलनले विश्वव्यापी मुद्रास्फीतिलाई बढाइरहेको छ ।’

आईएमएफद्वारा प्रकाशित वर्ल्ड इकोनोमिक आउटलुक अपडेट २०२२ मा विश्वको आर्थिक वृद्धिदर सन् २०२२ मा ३.२ प्रतिशत हुने र सन् २०२३ मा २.९ प्रतिशत घट्ने मुद्रा कोषले प्रक्षेपण गरेकाे छ । विश्वका तीन ठूला अर्थतन्त्र अमेरिका, चीन र युरोप क्षेत्र ठप्पप्राय हुनुलाई विश्वव्यापी अर्थतन्त्रकै समस्याका रुपमा हेरिएको छ । सन् २०२१ मा ५.७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको अमेरिकाले सन् २०२२ मा २.३ र सन् २०२३ मा १ प्रतिशत मात्रै आर्थिक वृद्धि गर्ने अनुमान मुद्रा कोषको छ । त्यस्तै, युरोपको अर्थतन्त्र सन् २०२२ मा २.६ प्रतिशत र सन् २०२३ मा १.२ प्रतिशत मात्रै वृद्धि हुने मुद्रा कोषको आकलन रहेको छ ।

उदाउँदो बजार र विकासशील अर्थतन्त्र भएको मुलुक ठानिएका चीन भारत र आसियान–५ भनिने इन्डोनेसिया, मलेसिया, फिलिपिन्स र थाइल्यान्डको पनि आर्थिक वृद्धिदर सन् २०२२ मा औसत ३.६ प्रतिशत र सन् २०२३ मा ३.९ प्रतिशत रहने मुद्रा कोषको अनुमान रहेको छ । चीनले सन् २०२२ मा ३.३ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने ठानिएकोमा सन् २०२३ मा ४।६ प्रतिशतको वृद्धि हासिल गर्नेछ ।

यस वर्षको दोस्रो त्रैमासिकमा चीन र रुसमा आएको मन्दीका कारण विश्वव्यापी उत्पादन संकुचित भएको छ । महामारीले पहिल्यै कमजोर भएको विश्व अर्थतन्त्रमा अन्तर्राष्ट्रियस्तरमा देखिएको युद्धको झट्काले झनै असर पारेको छ । कोरोना महामारीले असर पारेको सन् २०२० मा भने विश्वको आर्थिक वृद्धिदर ३.१ प्रतिशतले नकारात्मक थियो ।