सरकारलाई संसदीय समितिको प्रश्न: एसपीपीमा सहभागी नहुने पत्र किन नपठाएको ?

सरकारलाई संसदीय समितिको प्रश्न: एसपीपीमा सहभागी नहुने पत्र किन नपठाएको ?


ग्लोब नेपाल
756
Shares

काठमाडौं । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने निर्णय अमेरिकालाई नपठाउनुको कारण माग गरेको छ ।

बुधवार बसेको समितिको बैठकले एसपीपीमा नेपाल सहभागी नहुने भनेर मन्त्रिपरिषद्को बैठकले निर्णय गरे पनि हालसम्म अमेरिकालाई पत्र नलेखेको भन्दै पत्र नलेख्नुको कारण माग गर्ने निर्णय गरेको हो । बैठकले अमेरिकालाई पत्राचार नगर्नुको कारण माग गर्दै परराष्ट्र र रक्षा मन्त्रालयलाई पत्र लेख्ने निर्णय गरेको समिति सभापति पवित्रा निरौला खरेलले जानकारी दिइन् । समितिले एसपीपीबारे आदान प्रदान भएका सबै दस्तावेज पनि रक्षा मन्त्रालयसँग माग गरेको छ । समितिका सभापति निरौलाले समितिले विभिन्न समयमा गरेको निर्देशन कार्यान्वयन गरेको सन्दर्भमा पनि जवाफ माग गरेको बताइन् ।

उनले भनिन्, ‘प्रधानसेनापति अस्ट्रेलिया गएको कुरा हामीले जानकारी पायौं । केको लागि जानुभएको हो ? आईपीएसको सन्दर्भमै छलफलमा जानुभएको हो भन्ने खालको कुरा छ । हामी आधिकारिक तथ्य, प्रमाण लिन चाहन्छौं । अहिलेको सन्दर्भमा माननीय सदस्यहरूले भनेजस्तै फेरि एकचोटी हामी मन्त्रालयलाई पत्राचार गर्नेछौं । रक्षा मन्त्रालयलाई पत्र पठाउने छौं । एसपीपीमा नेपाल सहभागी नहुने भनेर अमेरिकालाई लेख्नुपर्ने पत्र आजसम्म किन गइराखेको छैन ? नजानुको कारण के हुन् र हामीले मागेका डकुमेण्टहरू हामीले प्राप्त गर्न नसक्नुका कारणहरू के-के हुन् ? यो हामीले प्राप्त गर्न सक्छौं या सक्दैनौं ? प्रस्ट किसिमको जानकारी होस् भनेर हामी पत्राचार गर्ने कुरा यहाँहरूसमक्ष राख्न चाहन्छौं ।’

समितिको बैठकमा ‘विश्व सम्पदा सूचीकृत सांस्कृतिक क्षेत्र अध्ययन तथा अनुगमन उपसमिति’ले आफ्नो प्रतिवेदन पनि पेस गरेको छ ।