लुको नेपाल कनेक्शन, ३० वर्षअघि नेपालमै परेको थियो लभ ! (भिडियोसहित)

लुको नेपाल कनेक्शन, ३० वर्षअघि नेपालमै परेको थियो लभ ! (भिडियोसहित)


ग्लोब नेपाल
1.9k
Shares

काठमाडौं । बिहीबारदेखि नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एशियासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आफ्नो पहिलो नेपाल भ्रमणको बारेमा स्मरण गरेका छन् । नेपाल भ्रमणमै रहेका बेला काठमाडौंस्थित अमेरिकी दूतावासले उनको जीवनसँग सम्बन्धित एउटा भिडियो सार्वजनिक गरेको छ।

शुक्रबार अमेरिकी दूतावासले सार्वजनिक गरेको भिडिओ सन्देशमा सहायकमन्त्री लुले आफ्नो प्रेमिकासँग १९९३ मा भारतको दार्जीलिङ हुँदै नेपाल आएको स्मरण गरेका छन् । साथै उनले आफ्नो वैवाहिक जीवनको शुरुवात पनि नेपालबाट नै भएको उल्लेख गरेका छन्। १ मिनेट ४२ सेकेन्ड लामाे भिडियोमा लुले त्यस समयकी प्रेमिका र अहिलेकी पत्नि एरियल एहार्टसँग नेपाल भ्रमणमा आउँदाकाे सबै पल स्मरण गरेका छन् ।

३० वर्षअघि आफू पहिलोपटक नेपाल आएको उल्लेख गरेका उनले त्यही बेला प्रेम (लभ) मा पनि बसेको जनाएका छन्। ‘नमस्ते ! नेपाल। म डोनाल्ड लु हुँ। पहिलोपटक सन् १९९३ मा नेपाल आएको थिएँ’, उनले भनेका छन्, ‘आज म यस क्षेत्रका लागि अमेरिकी सहायक विदेश मन्त्रीका रुपमा यहाँ आएको छु।’

अमेरिकी विदेश मन्त्रालयमा काम सुरु गरेका लुको जनस्वास्थ्य विज्ञ एहर्टसँग विवाह २६ वर्षअघि भएको थियो । उनले आफ्नो सन्तानहरुको नाम आलिया र किप्लिङ राखेको बताएका छन् । ‘झन्डै ३० वर्षअघि जब म यहाँ आएको थिएँ, म ती युवतीसँग प्रेममा परेँ जो आज मेरी श्रीमती छिन्’, उनले भनेका छन्, ‘हामी विवाहित भएको लगभग २६ वर्ष भयो। हाम्रा दुई सुन्दर केटाकेटी छन्। जसमध्ये दुवैको नाम दक्षिण एसियामा हामीले बिताएका समयबाट प्रेरित छन्,आलिया र किप्लिङ।’

दार्जीलिङबाट रिक्सामा चढेर नेपाल प्रवेश गरेको पनि लुले स्मरण गरेका छन् । उनले चितवन निकुञ्जमा जीपमा बसेर अर्ना खोज्दै घुमेको पनि सम्झिएका छन् । ‘तराई हुँदै चितवन राष्ट्रिय निकुञ्ज, जनकपुर र काठमाडौं आयौं’, लुले स्मरण गरेका छन्, ‘हामीले संकोच मान्दै हाम्रा केटाकेटीलाई बताउनु परेको छ कि गर्मीको कारण हामीले अक्सर ती यात्राहरु बसका छतमा बसेर गरेका थियौं । त्यसपछि हामीले उनीहरुलाई कहिल्यै त्यसो नगर्न पनि भन्छौं ।’

उनले जनकपुरमा तिहार (दीपावली)को समयमा बेला पुगेको पनि सम्झिएका छन् । ‘जनकपुरमा हामी दीपावलीको बेला पुगेका थियौं र उक्त चाड मनाउन महिलाहरुले पानीमा दियो बगाएको जनकपुर नजिकैको नदीबाट पार गरेको कुरा कहिलै बिर्सिने छैन’, लुले भनेका छन्, ‘त्यो एकदमै सुन्दर थियो ।’

काठमाडौं आएर पाटनका अद्भूत सम्पदा घुमेको र खाना खाएको आज पनि उनको मानसपटलमा ताजै छ। ‘त्यसबेला विश्वकै सर्वोत्कृष्टमध्ये केही खाना हामीले चाख्यौँ’ उनले भनेका छन्। 

को हुन्, विदेशमन्त्री लु ?

अमेरिकी विदेशमन्त्रालयमा लु तेश्रो वरियताका कूटनीतिज्ञमा पर्छन्। पहिलो वरियतामा विदेशमन्त्री एन्टोनी ब्लिङ्केन र दोश्रो वरियतामा उपविदेशमन्त्री वेन्डी आर सर्मन छन्। विदेशमन्त्री लु अमेरिकी विदेश मन्त्रालयमा दक्षिण तथा मध्य एसिया मामिला हेर्ने उच्चतम अधिकारी हुन्।

अहिले उनले विदेश मन्त्रालयमा रही नेपाल, भारत, पाकिस्तान र अफगानिस्तानसहित दक्षिण एसियाली मुलुक तथा मध्य एसियाका कीर्गिस्तान, ताजिकिस्तान र तुर्कमेनिस्तान मामिला हेर्छन्। दक्षिण तथा मध्य एसियाली मुलुकसँगको अमेरिकी विदेशनीति कार्यान्वयनमा उनको भूमिका महत्वपूर्ण हुन्छ। अमेरिकी विदेश मन्त्रालयमा लु दक्षिण एसिया मामिला विज्ञ मानिन्छन्।

सन् २०२१ को सेप्टेम्बर १३ मा सिनेटले उनको नियुक्ति अनुमोदन गरेको थियो। गत अप्रिलमा राष्ट्रपति बाइडेनले उनलाई सिनेटसमक्ष सहायक विदेशमन्त्रीको रुपमा प्रस्ताव गरेका थिए। लुसँग अमेरिकी विदेश सेवामा विभिन्न हैसियतमा ३० बर्ष भन्दा बढी समय काम गरेको अनुभव छ। चिनियाँमूलका लु चिनियाँ र हिन्दी भाषा पनि बोल्छन्।

लुले थुप्रै वर्ष भारतमा काम गरेका छन्। सन् १९९६ देखि १९९७ सम्म नयाँ दिल्लीस्थित तत्कालीन अमेरिकी राजदूतको ‘स्पेसल असिस्टेन्ट’का रुपमा काम गरेका लु सन् १९९७ देखि २००० सम्म त्यही दूतावासमा पोलिटिकल अफेयर्स अफिसर थिए।

अमेरिकाको क्यालिफोर्नियामा जन्मेका सहायक विदेशमन्त्री लु चिनियाँ, हिन्दी, रुसी र उर्दू भाषामा पोख्त छन्। उनका बाबु चिनियाँमूलका हुन्। लुले प्रिन्स्टन युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा स्नातकोत्तर गरेका छन्।