गठबन्धनका नेताहरुलाई धन्यवाद, बजेट विवादबारे मुखै खोलेनन्

गठबन्धनका नेताहरुलाई धन्यवाद, बजेट विवादबारे मुखै खोलेनन्


ग्लोब नेपाल
54
Shares

काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गरेका छन् । आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएपछि अर्थमन्त्री शर्माले मन्त्रालयमा पुगेर कार्यभार सम्हालेका हुन्।

मन्त्रालयले आफ्नो स्वागतमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गरेका शर्माले बजेट कार्यान्वयन गर्ने अवसर दिएको भन्दै गठबन्धनका नेताहरूको नामै लिएर उनले धन्यवाद ज्ञापन गरे । उनले सञ्चारकर्मीहरूसँग भने, ‘प्रधानमन्त्रीज्यू, पार्टी अध्यक्ष ज्यू, माधव नेपालज्यू, उपेन्द्र यादवज्यू, दुर्गा पौडेलज्यूलगायत गठबन्धनका सबैलाई धन्यवाद छ, मलाई बजेट कार्यान्वयन गर्ने अवसर दिनुभएकोमा ।’

यस्तै शर्माले आफूमाथि लागेको आरोप र संसदीय छानबिन समितिले गरेको छानबिनबारे भने केही पनि बोलेनन्। यति बेला अर्थतन्त्रलाई सबलीकरण गर्नुपर्ने आवश्यकता रहेको भन्दै शर्माले बजेट त्यही दिशामा लैजाने विश्वास व्यक्त गरे ।

आफ्नो मन्त्रालयको जिम्मामा रहेका कार्यलाई सम्पादन गर्न अहोरात्र लागिपर्ने उनले बताए । उनले अघि भने, ‘बजेट कार्यान्वयनका सन्दर्भमा समीक्षा गरेर कहाँ कमजोरी भए ? कसरी हटाउन सकिन्छ भनेर उचित समीक्षासहित प्रभावकारी कार्यान्वयन गर्न लागिपर्ने छौं ।’ आफ्नो सम्बोधनसँगै कार्यक्रम समाप्त गरेको घोषणा गरेका शर्माले सञ्चारकर्मीहरुको कुनै प्रश्न भने लिएनन् ।

बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेर संसदीय छानबिन विशेष समिति गठन भएपछि २२ असारमा उनले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए। संसदीय छानबिन समितिले बहुमतले निर्णय गरी बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको प्रमाण नभेटिएको प्रतिवेदन दिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले शर्मालाई पुन: अर्थमन्त्रालयको जिम्मेवारी दिए हुन्।