आयोजक इंग्ल्यान्डले जित्यो महिला युरोकपको उपाधि

आयोजक इंग्ल्यान्डले जित्यो महिला युरोकपको उपाधि



लन्डन । आयोजक इंग्ल्यान्डले महिला युरोकप २०२२ को उपाधि जितेको छ । गएराति वेम्बलीमा भएको फाइनलमा जर्मनीलाई अतिरिक्त समयमा २–१ ले हराउँदै इंग्ल्यान्ड च्याम्पियन बनेको हो । इंग्ल्यान्डलाई जित दिलाउन इला टोनी र केलीले एक एक गोल गरिन् । जर्मनीका लिना मागुलले एक गोल फर्काइन् ।

खेलको ६२ औं मिनेटमा टोनीले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएकी थिइन् । तर ७९ औं मिनेटमा लिनाले गोल गर्दै जर्मनीलाई १–१ को बराबरीमा ल्याईन् ।त्यसपछि निर्धारित ९० मिनेटमा समय १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

अतिरिक्त समयमा इंग्ल्यान्डकी केली नायक बनिन् । केलीले खेलको ११० औं मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई २–१ को जित दिलाइन् । जितसँगै इंग्ल्यान्ड पहिलो पटक महिला युरोकपको उपाधि जित्न सफल भयो ।