काठमाडौँ । काठमाडौंको तारकेश्वर नगरपालिका-२ काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत फेला परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाका अनुसार दिनेश पाण्डेको घरमा पाण्डेसहित श्रीमती र छोराछोरी मृत फेला परेका हुन् । घटनास्थलमा संलग्न प्रहरीका अनुसार दिनेशलाई झुन्डिएको अवस्थामा मृत फेला पारिएको हो । भित्रबाट चुकुल लगाएर पहिला श्रीमती, छोरा र छोरीको हत्या गरेर दिनेशले आत्महत्या गरेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको जनाएको छ ।
घटनास्थलमा ४ पेजको ‘सुसाइड नोट’ समेत भेटिएको छ । त्यसमा के लेखिएको छ भन्ने चाहिँ प्रहरीले खुलाएको छैन । प्राप्त प्रारम्भिक जानकारीअनुसार दिनेश करिव १२ वर्ष कुवेतमा बसेर साढे ४ वर्षअघि नेपाल फर्किएका थिए । दिनेशकी ३९ वर्षीया श्रीमती सुनीता पाण्डे घर नजिकै पसल चलाएर बसेकी थिइन् । तर पारिवारमा मेलमिलाप थिएन । दिनेश र सुनिता पारिवारिक झगडा लिएर ३ पटकसम्म प्रहरीको वालाजु वृत्तमा पुगेको पाइएको छ ।
पाण्डे दम्पतिका १३ वर्षीया आशिका पाण्डे र ८ वर्षीय आशिक पाण्डे थिए । बिहान अबेरसम्म पनि घरमा सुनसान भएपछि स्थानीयले ढोका फोरेर हेर्दा उनीहरु मृत फेला परेको खबर प्रहरीलाई दिएका थिए ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले अहिले घटनास्थलबाट मुचुल्का उठाउने काम भइरहको बताए ।
प्रतिक्रिया