चीनद्वारा ताइवानको सिमानामा क्षेप्यास्त्र प्रहार

चीनद्वारा ताइवानको सिमानामा क्षेप्यास्त्र प्रहार


ग्लोब नेपाल
54
Shares

काठमाडौं । चीनले सैन्य प्रशिक्षणका दौरान ताइवानको उत्तरपूर्वी र दक्षिण पश्चिम तट छेउको पानीमा कयौँ डोङफेङ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

बिहीबार चिनियाँ सेनाले उत्तरपूर्वी र दक्षिणपश्चिमी ताइवान नजिकैको समुद्रमा थुप्रै क्षेप्यास्त्रहरू प्रहार गरेको ताइवानको रक्षा मन्त्रालयले पुष्टि गरेको रोयटर्सले जनाएको छ । ताइवानको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रोयटर्सले स्थानीय समयअनुसार १ बजेर ५६ मिनेट जाँदा क्षेप्यास्त्र प्रहार भएको जानकारी दिएको हो । डोङफेङ ब्यालेस्टिक क्षेप्यास्त्र चिनियाँ जनमुक्ति सेनाले प्रयोग गर्छन् । ताइवानको रक्षा मन्त्रालयले क्षेप्यास्त्र प्रहार भएसँगै आफ्नो क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई तयारी अवस्थामा राखेको जानकारी दिएको छ ।

अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेसँगै आक्रामक बनेको चीनले केही दिनयता ताइवानको सीमा क्षेत्र सैन्य अभ्यास गर्दै आएको छ । बिहीबार चीनले गरेको सैन्य अभ्यासलाई अहिलेसम्मकै ठूलो अभ्यास भनिएको छ ।

यसअघि पनि चिनियाँ सेनाको ताइवानको समुद्री क्षेत्रमा ‘लाइभ फायर’ को अभ्यास गरिरहेको चिनियाँ टेलिभिजन सीसीटीभीले जनाएको छ । बिहीबार बिहान भने चीनले ताइवानको हवाइ र समुद्री मार्गमा नै असर पर्ने गरी अभ्यास सैन्य अभ्यास गरेको हो ।