आयोगको अर्जुनदृष्टि चुनावमा छ, तयारी थालिसक्यौं: प्रमुख आयुक्त

आयोगको अर्जुनदृष्टि चुनावमा छ, तयारी थालिसक्यौं: प्रमुख आयुक्त


ग्लोब नेपाल
81
Shares

काठमाडौं । सरकारले मंसिर ४ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभा र प्रदेशसभा चुनावको निर्वाचन आयोगले स्वागत गर्दै स्वच्छ, निष्पक्ष र भयरहित ढंगले काम गर्ने बताएको छ ।

सरकारले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेसँगै आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले चुनावका लागि आन्तरिक तयारी थालिसकिएको बताए । थपलियाले आयोगको अर्जुनदृष्टि आगामी मंसिर ४ मा रहेको पनि बताएका छन् ।

‘१०७ दिनको अवधि छ । आयोगले मंसिर ४ लाई अर्जुनदृष्टि लगाएर काम गर्छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निस्पक्ष र भयरहित बनाउने गरी आवश्यक तयारी हामीले थालिसकेका छौं’, उनले भने , ‘अहिलेसम्म अनौपचारिकरूपमा गरिएको तयारीलाई औपचारिक बनाएर अघि बढ्ने छौं ।’

सरकारले घोषणा गरेको मिति अपेक्षित भएको उनले बताए । ‘आयोगले परामर्श दिएपछि तयारीमा जुटेका थियौँ । यो अपेक्षित र नियमित हो,’ उनले भने । स्थानीय निर्वाचनको कमी कमजोरीलाई सुधार गरेर मतदानस्थल र केन्द्र थप गर्ने प्रक्रिया अगाडि बढाइएको उनले बताए ।

उनले आयोगले संविधानमा भएको र निर्वाचन कानुनमा भएको व्यवस्था अनुसार मंसिर २१ गते सांसदहरुको पदावदी सकिने परामर्श सरकारलाई बुझाएको बताए ।