प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको कार्यकाल २१ मंसिरसम्म: प्रमुख निर्वाचन आयुक्त

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको कार्यकाल २१ मंसिरसम्म: प्रमुख निर्वाचन आयुक्त

उम्मेदवारी दिएपछि सांसदको पद स्वतः सकिन्छ


ग्लोब नेपाल
54
Shares

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुको पदावधि मंसिर २१ गते सकिने बताएका छन् ।

बिहीबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा उनले आयोगले सरकारलाई दिएको लिखित परामर्शमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पदावधि २१ मंसिरमा सकिने उल्लेख गरेको बताए । ‘प्रदेश सभा र प्रतिनिधिसभाको कार्यकालको व्याख्या आयोगले गर्ने होइन । निर्वाचित मितिबाट पदावधि प्रारम्भ हुन्छ भन्ने हो । आउँदो मंसिरको २१ गते पदावधि समाप्त हुन्छ भनेर लिखित रूपमा सरकारकहाँ पाँच पृष्ठको कागजात पेस गरेका थियौं’, उनले भने ।

तर आयोगले फेरि उम्मेदवारी दिनेका हकमा सबैलाई समान अवसर र समान खेल मैदान प्रदान गर्ने बताएको छ। आयुक्त थपलियाले उम्मेदावरी दिनुभन्दा अगाडि नै वा दिएपछि स्वत: उनको पदावधि सकिएको मान्नुपर्ने बताए। उनले भने, ‘आयोगले निर्वाचनमा सबै उम्मेदवारप्रति समान अवसर र समान खेल मैदानको अवसर उपलब्ध गराउनेछ । प्रतिनिधिसभा र प्रदेश सभाको पदमा उम्मेदवारी दिएपछि, दसैंलगत्तै उम्मेदवारी दर्ता गर्नुपर्ने गरी मिति तय गर्नुपर्ने देखिन्छ, उम्मेदवारी दिएपछि निजहरूको पद स्वतः सकिएको मानिनुपर्छ भन्ने आयोगको धारणा छ । कानुनसम्मत ढंगले व्याख्या गरेर अगाडि बढाउँछौं’, उनले भने ।