चुनावी तालमेल गरेर अघि बढ्ने पाँच दलीय गठबन्धनको निर्णय

चुनावी तालमेल गरेर अघि बढ्ने पाँच दलीय गठबन्धनको निर्णय

सीट बाँडफाँट गर्न कार्यदल गठन


ग्लोब नेपाल
135
Shares

काठमाडौं । सत्तारुढ पाँँच दलीय गठबन्धनले आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बसेको पाँँच दलीय गठबन्धन बैठकले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको हो । बैठकमा सहभागी नेपाली कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चारकर्मीहरूसँग भने, ‘४ मंसिरको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल गर्ने निर्णय गर्‍यो ।’

स्रोतका अनुसार सिट बाँडफाँटको गृहकार्य गर्न ११ सदस्यीय कार्यदलसमेत बनेको छ । कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट देव गुरुङ र वर्षमान पुन छन् ।

यस्तै, नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् । कार्यदललाई कुन दलले कति सिट लिने भनेर साउन अन्तिमसातासम्म सिफारिस गर्न भनिएको छ ।

बिहीबार सरकारले ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेपछि शुक्रबार कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेका हुन् ।