राष्ट्रिय वाणिज्य बैंकको नाफा ५ अर्ब नाघ्यो

राष्ट्रिय वाणिज्य बैंकको नाफा ५ अर्ब नाघ्यो


ग्लोब नेपाल
54
Shares

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्षमा ५ अर्ब भन्दा बढी मुनाफा आर्जन गरेको छ । खुद ब्याज आम्दानी वृद्धिसँगै सम्भावित कर्जा नोक्सानी वापतको प्रोभिजन रकमबाट राइटब्याक गर्दा वाणिज्य बैंकको नाफा बढेको हो ।

शुक्रबार बैंकले आर्थिक वर्ष २०७८/७९ मा पाँच अर्ब २५ करोड ३९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा तीन अर्ब ७९ करोड ५५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकले गत आवमा ३७.३८ प्रतिशतले नाफा बढाएको हो ।

गत आवमा खुद ब्याज आम्दानी १७.२९ प्रतिशतले वृद्धि भएर ९ अर्ब ६६ करोड ९३ लाख पुगेको बैंकले सम्भावित कर्जा जोखिम वापतको प्रोभिजन ६८ करोड १८ लाख राइटब्याक गरेको छ । बैंकको कर्जा लगानी १९.२२ प्रतिशतले वृद्धि भएर २ खर्ब ११ अर्ब ४ करोड ९६ लाख पुगेको छ । त्यस्तै निक्षेप ०.६९ प्रतिशतले घटेर २ खर्ब ५९ अर्ब ३८ करोड ३३ लाखमा झरेको छ ।

बैंकले कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर (स्प्रेड दर) घटाएको छ । तर कर्जा विस्तारले गर्दा बैंकको खुद ब्याज आम्दानी वृद्धि देखिएको हो । अघिल्लो आवमा ४.३७ प्रतिशत रहेको बैंकको स्प्रेड रेट गत आवमा घटेर ४.२९ प्रतिशत पुगेको छ ।

आम्दानी वृद्धिसँगै बैंकको खुद सञ्चलान आम्दानी २१.५८ प्रतिशतले बढेर ११ अर्ब ९६ करोड ४८ लाख पुगेको छ । यता बैंकको कर्मचारी खर्च भने घटेको छ । बैंकको कर्मचारी खर्च समान्य बढेर ३ अर्ब २३ करोड ७३ लाखबाट ३ अर्ब ३६ करोड १७ लाख पुगेको छ । खुद सञ्चालन आम्दानीसँगै कर्मचारी खर्च सामान्य बढेपनि बैंकको सञ्चालन मुनाफा ३७.६७ प्रतिशतले वृद्धि भएर सात अर्ब १ करोड ८५ लाख रुपैयाँ पुगेको छ ।

बैंकले गत आवमा चुक्ता पूँजी ४६.६९ प्रतिशतले वृद्धि गरेर १० अर्ब १८ करोड ४९ लाखबाट १४ अर्ब ९४ करोड ४ लाख पुयाएको छ । बैंकको सञ्चित कोषमा ३ अर्ब ३ करोड २४ लाख र जगेडा कोषमा १५ अर्ब ५१ करोड ६ लाख छ ।