गृहमन्त्री खाणसँग चिनियाँ राजदूत यान्छीको शिष्टाचार भेट

गृहमन्त्री खाणसँग चिनियाँ राजदूत यान्छीको शिष्टाचार भेट


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेटघाट गरेका छन् ।

गृह मन्त्रालयमा शुक्रबार बिहान भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ बनाउनेबारे छलफल भएको थियो । भेटमा गृहमन्त्री खाणले नेपाल एक चीन नीतिको पक्षमा रहको बताए । ‘नेपाल एक चीन नीतिको पक्षमा छ,’ गृहमन्त्री खाणले भने, ‘नेपालभित्र छिमेकी राष्ट्रविरुद्ध कुनै गतिविधि हुन नदिन हामी प्रतिबद्ध छौँ ।’

उनले नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा अडिग रहेको पनि बताए । अन्य छिमेकी मुलक र चीनको शान्ति नेपालको हितमा रहेको गृहमन्त्री खाणको भनाइ थियो ।

भेटमा राजदूत यान्छीले नेपालमा हुने विपद्को व्यवस्थापनमा चीन सहयोग गर्न तयार रहेको बताइन् । सरकारले बिहीबारमात्रै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन घोषणा गरेकोमा चीनले खुसी व्यक्त गरेको राजदूत यान्छीले बताइन् । जनताको मतबाट प्रतिनिधि चुनिने व्यवस्थाको पक्षमा चीन सदैव रहने बताउँदै राजदूत यान्छीले जनमतबाट आउने नयाँ सरकारसँग चीन सहकार्य गर्न तयार रहेको बताइन् ।

उनले यसै वर्ष चिनियाँ कम्युनिष्ट पार्टीको पनि अधिवेशन हुन लागेको जानकारी गृहमन्त्री खाणलाई गराएकी थिइन् ।