परराष्ट्र मन्त्रालयले भन्योः ताइवान क्षेत्रमा उत्पन्न परिस्थिति नजिकबाट नियालिरहेका छौं

परराष्ट्र मन्त्रालयले भन्योः ताइवान क्षेत्रमा उत्पन्न परिस्थिति नजिकबाट नियालिरहेका छौं


ग्लोब नेपाल
81
Shares

काठमाडौँ । परराष्ट्र मन्त्रालयले अमेरिकी सभामुख नान्सी पेलोसीको भ्रमणपछि ताइवान क्षेत्रमा उत्पन्न भएको परिस्थितिलाई नेपालले नजिकबाट नियालिरहेको बताएको छ ।

शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपालले सधैं ‘एक चीन नीति’ को समर्थन गरेको भन्दै पछिल्लो घटनाक्रमलाई हामीले नजिकबाट नियालिरहेको बताइन् । ‘पछिल्लो घटनाक्रमलाई हामीले नजिकबाट नियालिरहेका छौं । नेपालले ‘एक चीन नीति’को समर्थन गर्दै आएको छ । दुवै देशले एक अर्कोको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधिनताको समर्थन गर्दै आएको छ’, प्रवक्ता लम्सालले भनिन्, ‘नेपाल एक शान्तिपूर्ण राष्ट्र भएकाले अन्तर्राष्ट्रिय शान्तिको पक्षमा रहेको कुरा जानकारी गराउन चाहन्छौं ।’

चीनले ताइवानको सीमा नजिक मिसाइल समेत प्रहार गरेको छ । पत्रकार सम्मेलनमा प्रवक्ता लम्सालले परराष्ट्रमन्त्री डा। नारायण खड्काले यही साउन २४ देखि २६ गतेसम्म गर्ने चीन भ्रमणलाई चीन-ताइवान बढ्दो तनावसँग जोडेर नहेर्न आग्रहसमेत गरिन् ।‘घटना पछि भएको हो, परराष्ट्रमन्त्रीको चीन भ्रमणको तयारी धेरै पहिला देखि सुरु भएको हो,’ उनले भनिन् ।

अमेरिकी तल्लो सदनकी सभामुख पेलोसीले यसैसाता चीनको चेतावनीको बाबजुद ताइवानको भ्रमण गरेपछि अहिले चीन-ताइवान र चीन-अमेरिका सम्बन्धमा तनाव बढेको छ । पेलोसीले ताइवानको भ्रमण गरेको जवाफमा अहिले चीनले ताइवान वरपर अहिलेसम्मकै ठूलो सैन्य अभ्यास गरिरहेको छ ।