इजरायल र प्यालेस्टाइनीबीचकाे तनाव उत्कर्षमा

इजरायल र प्यालेस्टाइनीबीचकाे तनाव उत्कर्षमा



तेलअबिब । इजराइलको हवाई आक्रमणमा परी गाजापट्टीमा मृत्यु हुने प्यालेस्टाइनीको संख्या २४ पुगेको छ ।

मृत्यु हुनेमा ६ जना बालबालिका रहेका छन् भने २ सय ३ जना घाइते भएका छन् । गत शुक्रबार इजराइलले प्यालेस्टाइनी इस्लामिक संगठनविरुद्ध सुरु गरेको सैन्य कारबाहीमा प्यालेस्टाइनी सर्वसाधारण समेतकाे मृत्यु भएकाे छ ।

दोस्रो दिन पनि जारी रहेको आक्रमणमा इजरायली सेनाले गाजा शहरमा हवाई आक्रमण तीब्र बनाएको छ । इजरायली बम वर्षक विमानहरुले गाजाका विभिन्न स्थानमा आक्रमण गरेका छन् । बम आक्रमणबाट थुप्रै घर तथा सवारी साधनहरु समेत ध्वस्त भएका छन् । गाजामा भईरहेको यो आक्रमण एक हप्तासम्म लम्बिनसक्ने बताइएको छ ।

इजराइलको कारबाहीमा प्यालेस्टाइनी इस्लामिक जिहादी संगठन (पीआइजे) का नेता तायशिर जबारीकाे पनि मृत्यु भएकाे जनाइएकाे छ । इजराइलले प्यालेस्टाइनी अतिवादी समूहबाट तत्काल सुरक्षा खतरा महसुस भएकोले कारबाही गरेको बताएको छ । उता, प्यालेस्टाइनी जिहादीहरुले पनि इजरायलतर्फ कम्तिमा ४ सय मिसाइल हानेकोमा इजरायली सुरक्षा संयन्त्रणले अधिकांश मिसाइललाईबीचमै निस्क्रिय बनाइएको छ ।

यसैबीच, गाजापट्टीमा चिकित्सा सेवा पनि प्रभावित भएको छ । जेनेरेटर सञ्चालन गर्न आवश्यक इन्धनको अभाव हुँदा चिकित्सा सेवा बन्द हुने अवस्थामा पुगेको हो । प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका प्रवक्ता आश्राफ अल–किद्राले घाइतेहरूका लागि आकस्मिक सेवा सुनिश्चित गर्न सबै अस्पतालहरूमा बहिरंग सेवा र निर्धारित केही शल्यक्रिया समेतलाई रोकिएको जानकारी दिएका छन् ।