डुब्न लागेकाहरु आत्तिएर गठबन्धनको ‘त्यान्द्रो’ समातिरहेका छन्, सबै डुब्छन्ः ओली

डुब्न लागेकाहरु आत्तिएर गठबन्धनको ‘त्यान्द्रो’ समातिरहेका छन्, सबै डुब्छन्ः ओली


ग्लोब नेपाल
621
Shares

काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्ती केपी शर्मा ओलीले आगामी चुनावमा गठबन्धन बनाउने निर्णय ‘डुब्न लागेकाको त्यान्द्रो’को सहारा भएजस्तै रहेको टिप्पणी गरेका छन्।

आईतबार आयोजित पार्टी निकट भुपू सैनिकको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनका कुनै पनि दलसँग एक्लै चुनावमा जाने हिम्मत नरहेको बताए । उनले अहिले उनीहरुको भाग्यमै गठबन्धन अनिवार्य शर्त भएको बताएका छन्। ‘हिन्दीमा भनिन्छ नि- डुब्तेको तिन्केका सहारा। डुब्दै गर्दा त्यान्द्रो समातेर बाँच्न खोज्छ’, उनले भने, ‘यी सबै डुब्न लागेकाहरु हुन्। एकले अर्कालाई निकालिदिए त हुन्थ्यो तर डुबिएला भनेर एकले अर्कालाई समातेको छ। सबै डुब्न बेर छैन।’

ओलीले गएको निर्वाचनमा माओवादी केन्द्रलाई एमालेले डुब्नबाट बचाएको दाबी गरे। अहिले उक्त पार्टी आफूलाई नेपाली कांग्रेसले हेपेको महशुस गरेर पनि गठबन्धनमा रहन बाध्य भएको बताए। ओलीले गठबन्धनका दलहरुमा एकअर्काप्रति अविश्वास रहेको समेत उल्लेख गरे । ‘बिहान भन्छन्- हामीलाई हेप्यो, यस्तै चाल हो भने अर्को मोर्चा बनाउँछौं । दिउँसो अलिकति डराउँछन् । होइन, यो मोर्चा त कायमै राख्नुपर्छ भन्छन् । बेलुकातिर यो गठबन्धन चुनावपछिसम्मै कायम राख्नुपर्छ भन्छन् । राति सुत्छन् । छटपटी हुन्छ । के गरेर जोगिने होला भनेर सोच्न थाल्छन् । अनि बिहान उठेर फेरि धम्क्याउँछन् ।’ उनले भने ।

ओलीले यो गठवन्धन पार्टीको रुपमा गइसकेको समेत दावि गरे । उनले अघि थपे, ‘यो कांग्रेस निर्देशित विचारसमूह हो । यो कम्युनिष्ट विरोधि, प्रगति विरोधि, राष्ट्रियता विरोधि, लोकतन्त्र विरोधि समूह हो,’ उनले भने, ‘यससँग हामीले लड्नुपर्छ । एक्लै लड्न सक्षम छौं ।’