हेटौँडामा पाँच वटा गाडी एक-अर्कासँग ठोक्किए

हेटौँडामा पाँच वटा गाडी एक-अर्कासँग ठोक्किए

१५ विद्यार्थी घाइते


ग्लोब नेपाल
135
Shares

हेटौँडा । मकवानपुरको हेटौँडामा पाँच वटा सवारीसाधन ठोक्किएका छन् । सोमबार बिहान हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित पूर्वपश्चिम राजमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

राजमार्गमा स्कुल बस, ट्रक, ट्याङ्कर, कार र लरी दुर्घटनामा परेको हो। दुर्घटना हुँदा विद्यार्थीहरूसहित १५ जना घाइते छन्। उनीहरूको हेटौँडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको छ। उनीहरू सबैको अवस्था सामान्य नै रहेको कार्कीले बताए।

कार्कीका अनुसार सुरुमा ना १ क ५१२३ रिलायन्स स्कुलको बसलाई पछाडिबाट ना ५ ख ६२५४ नम्बरको ट्रकले ठक्कर दिएको थियो। फेरि सोही ट्रकले गएर लु १ क ७३७० नम्बरको ट्यांकरलाई ठक्कर दिएको थियो। त्यस ट्याङ्करले बा ७ च ९६०४ नम्बरको कारलाई ठक्कर दिएको थियो।

त्यस्तै ट्रकले फेरि गएर सडकमा रोकिराखेको प्रदेश २-०३-००१-ख २५०६ नम्बरको लरीलाई ठक्कर दिएको हो। ‘बस र ट्रक हेटौँडातर्फ आउँदै थियो। ट्याङ्कर विपरीत दिशामा जाँदै थियो,’ कार्कीले भने, ‘त्यही बेला दुर्घटना भएको हो। धेरै ठूलो क्षति भएको छैन। सामान्य नै छ।’

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अहिले राजमार्ग पनि खुलाइसकेको छ।