सार्वजनिक जग्गामा नर्भिक अस्पतालले बनाएको संरचना हटाउन समिति गठन गरिने

सार्वजनिक जग्गामा नर्भिक अस्पतालले बनाएको संरचना हटाउन समिति गठन गरिने


ग्लोब नेपाल
108
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका र नर्भिक अस्पतालबीच ‘सरकारी जग्गामा निर्माण गरिएका संरचना भत्काउने विषयमा समझदारी भएको छ ।

नर्भिक अस्पतालले सार्वजनिक जग्गा मिचेर संरचना बनाएको बारेमा अध्ययन गर्न काठमाडौं महानगरपालिका र नर्भिक अस्पतालले प्राविधिक राखेर अध्ययन समिति बनाउने भएका छन् । उक्त अध्ययन समतिले त्यहाँ रहेका अक्सिजन प्लान्ट हटाउन लाग्ने समय निर्क्यौल गर्ने र महानगरले त्यति समय प्रदान गर्ने समझदारी भएको हो ।

नर्भिकलाई सार्वजनिक जग्गाको संरचना हटाउन २४ घन्टे अल्टिमेटम दिएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह मंगलबार निर्देशन पालन भए नभएको हेर्न नर्भिक अस्पतालमा पुगेका थिए । उनलाई अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले नक्शा लगायतका कागजातहरु देखाए । उनले सरकारसँग २० वर्षका लागि लिज सम्झौता गरेर १ रोपनी १० आना जग्गा अस्पतालले भोगचलन गरिरहेको बताएका छन् ।

मेयर साहले भने सरकारी जग्गामा नक्शा पास नगरिकन संरचना बनाउन नपाइने सम्झाएका थिए । टहरा नै भए पनि नक्शा पास गराउनुपर्ने उनको भनाइ थियो । त्यसपछि सिंहले आफूहरु नक्शा पास गराउन तयार रहेको भन्दै त्यसका लागि समय दिन आग्रह गरे । साह त्यसमा तयार भएनन् । उनले जग्गा नै खालि गर्नुपर्ने अडान राखे । अस्पतालले यसका लागि समय माग गर्यो ।

अन्ततः दुवै पक्षका मेडिकल र स्ट्रक्चरन इन्जिनियरसहितका प्राविधिक राखेर समिति बनाइ उक्त जग्गामा रहेका अक्सिजन प्लान्ट लगायतका सामग्री सार्नका लागि आवश्यक समय निक्र्यौल गर्न दुवै पक्ष तयार भएका छन् । प्राविधिकसहितको समितिले दिने सुझाव अनुसार महानगरले समय उपलब्ध गराउने र त्यस समयभित्र नर्भिकले संरचना खाली गर्ने समझदारी भएको हो ।