निर्वाचन आयोगले भदौ १२ देखि १९ गतेसम्म मतदाता नामावली अद्यावधिक गर्ने

निर्वाचन आयोगले भदौ १२ देखि १९ गतेसम्म मतदाता नामावली अद्यावधिक गर्ने


ग्लोब नेपाल
594
Shares

काठमाडौँ । निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावली अद्यावधिक तथा दाबी-विरोधका लागि आह्वान गरेको छ।

भदौ १२ देखि १९ गतेसम्म मतदाता नामावली अद्यावधिक (दाबी-विरोधसमेत) को कार्यक्रम सञ्चालन हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनले नामावली अद्यावधिक कार्यका लागि इमेल, फ्याक्स तथा अनलाइनसमेतबाट निवेदन दिने व्यवस्था गरिएको बताए । मतदाता नामावली अद्यावधिक कार्यक्रम सम्पन्न भएपश्चात् प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि भदौ ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन हुने आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता शर्मा पौडेलका अनुसार सो अवधिमा नामावलीमा भएको त्रुटि सच्याउने, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, दोहोरो नामावली भएको भए हटाउन निवेदन दिने, एकाघर परिवारका सदस्यको मृत्यु भएको भए हटाउन निवेदन दिने, एकै वडाका दुई वा दुईभन्दा बढी मतदानस्थल भएकामा पायक पर्ने मतदानस्थलमा नाम सार्न निवेदन दिन सकिनेछ ।

सरकारले आगामी ४ मंसिरमा आमनिर्वाचनको गरेपश्चात् निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट हुँदै आएको मतदाता नामावली संकलन कार्य स्थगन भएको छ ।