समानुपातिक तर्फको निर्वाचन कार्यक्रम ८ भदौदेखि

समानुपातिक तर्फको निर्वाचन कार्यक्रम ८ भदौदेखि

प्रत्यक्षतर्फको उम्मेदवार मनोनयन दर्ता २३ असोजमा


ग्लोब नेपाल
594
Shares

काठमाडौँ । निर्वाचन आयोगले भदौ ८ गतेदेखि प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम सुरु गर्ने जनाएको छ ।

बुधबार बसेको आयोगको बैठकले निर्वाचन कार्यक्रम स्वीकृत गर्दै राजनीतिक दलहरुले उम्मेदवारको बन्दसूची असोज २ र ३ गते पेस गर्नुपर्ने समय तोकेको छ । यस्तै समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले भदौ ८ मा निवेदन दिन सूचना आह्वान गर्ने आयोगले जनाएको छ । आयोगका अनुसार भदौ १० देखि १२ गतेसम्म दलहरुले निवेदन पेस गर्नुपर्ने हुन्छ । उक्त निवेदन १३ गते आयोगले प्रकाशन गर्नेछ ।

यसैगरी १५ भदौमाअन्तिम नामावली प्रकाशन गरेर निर्वाचन चिह्न प्रदान गर्ने आयोगको निर्वाचन कार्यक्रममा उल्लेख छ । त्यस्तै उम्मेदवारको बन्दसूची असोज २२ मा प्रकाशन गर्ने कार्यसूची रहेको आयोगले जनाएको छ ।

प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्षतर्फको उम्मेदवार मनोनयन दर्ता २३ असोजमा गर्ने आयोगको तयारी छ । समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची कात्तिक ९ गते प्रकाशन गर्ने आयोगले जनाएको छ ।