थप लम्बियो राजापाक्षे दाजुभाइमाथि लगाइएको प्रतिबन्ध

थप लम्बियो राजापाक्षे दाजुभाइमाथि लगाइएको प्रतिबन्ध



काठमाडौँ । श्रीलङ्काको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षे र पूर्वअर्थमन्त्री बसिल राजापाक्षेमाथि लगाइएको यात्रा प्रतिबन्धलाई सेप्टेम्बर ५ सम्म लम्ब्याएको छ ।

श्रीलङ्काको सर्वोच्च अदालतले यसअघि उनीहरूलाई अगस्ट ११ सम्म अदालतको अनुमतिबिना देश छाड्न नदिने अन्तरिम आदेश जारी गरेको थियो । महिन्दा राजापाक्षे, बसिल राजापाक्षे र श्रीलङ्काको केन्द्रीय बैङ्कका पूर्वगर्भनर अजित निभार्ड काब्राललाई विदेश यात्रा प्रतिबन्ध लगाउन माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिइएको थियो ।

श्रीलङ्काको आर्थिक सङ्कटका लागि जिम्मेवार व्यक्तिविरुद्ध छानबिन गर्न माग गरिएको छ । सिलोन चेम्बर अफ कमर्स (सीसीसी)का पूर्वअध्यक्ष चन्द्र जयरत्ने, श्रीलङ्काका पूर्व स्विमिङ च्याम्पियन जुलियन बोलिङ, जेहान कनागररत्न र ट्रान्सपरेन्सी इन्टरनेसनल श्रीलङ्का (टीआईएसएल) लगायतका समूहले निवेदन दिएका थिए ।