काठमाडौं । आगामी ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँटमा सत्तारुढ दलहरुबीच वर्तमान संसदको उपस्थितिलाई मुख्य आधार बनाउने समझदारी भएको छ ।
बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठकमा संसदमा दलहरुको संख्यालाई मुख्य आधार बनाउने समझदारी भएको माओवादी केन्द्रका नेता देव गुरुङले बताए ।
सिट बाँडफाँटका आधारबारे छलफल भएका छन्। सैद्धान्तिक रूपमा हामी सहमति नजिक पुगिसकेका छौं,’ बालुवाटारमा पत्रकारहरूसँग उनले भने, ‘आ-आफ्नो दलभित्र छलफल गरी फेरि बैठक बस्ने कुरा भएको छ।’
उनकाअनुसार साउन ३० मा फेरि कार्यदलको बैठक बस्दैछ। उनले विगतमा दलहरूले ल्याएका मतलाई आधार बनाएर सिट बाँडफाँट गर्ने मोडालिटीबारे पनि छलफल गरिएको बताए।
‘स्थानीय चुनाव, विगतको संसदीय चुनावमा आएका मत र संसदमा दलहरूको उपस्थितिलगायत विषय हेर्ने कुरा छ,’ उनले भने, ‘विगतमा भएका चुनावका मत मात्रै आधार भने हुँदैन। केही दल पहिले अस्तित्वमा थिएनन्।’
प्रतिक्रिया