काम नगर्ने ठेकेदारको लाइसेन्स नै खारेज गर्ने मन्त्रीको चेतावनी

काम नगर्ने ठेकेदारको लाइसेन्स नै खारेज गर्ने मन्त्रीको चेतावनी

वडाध्यक्षदेखि सांसदसम्म ठेकेदार बनेको र काम नगर्ने प्रवृत्ति बढेको भन्दै नेता बनेर काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने चेतावनी दिए


ग्लोब नेपाल
54
Shares

वीरगञ्ज । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईले काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने चेतावनी दिएका छन् । आज वीरगञ्जमा तिलावे पुलको उद्घाटन गर्दै उनले वडाध्यक्षदेखि सांसदसम्म ठेकेदार बनेको र काम नगर्ने प्रवृत्ति बढेको भन्दै नेता बनेर काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने चेतावनी दिएका हुन् । काम नगर्ने ठेकेदारलाई जनताले चिन्नुपर्ने उनको भनाइ छ ।

आफू मन्त्री हुँदा ८२ वटा पुल अलपत्र रहेकामा त्यसलाई ३४ मा झारेको पनि मन्त्री राईले दावी गरे । उनले सङ्घको जिम्मेवारीमा रहेका सडक, पुल लगायतका आयोजनाको काम समयमै सक्ने वतावरण बनाउन सडक विभागलाई निर्देशनसमेत दिए ।

कार्यक्रममा वन तथा वातावरण मन्त्री प्रदीप यादवले वर्षौदेखि ठेक्का लिएर बस्ने काम नगर्ने ठेकेदारलाई कारबाही गर्न माग गरे । कालोसूचीमा राखेर मात्रै नहुने देखिएकाले काम नगर्ने ठेकेदारको लाइसेन्स नै खारेज गर्नुपर्ने उनको भनाइ छ ।

हुलाकी राजमार्ग अन्तर्गत वीरगञ्ज–ठोरी र ठोरी–माडी खण्डमा वनका कारण उत्पन्न समस्या समाधानमा वन मन्त्रालयले पहलकदमी लिने उहाँले प्रतिवद्धता व्यक्त गरे । उद्घाटनपछि आजदेखि नै तिलावे खोलाको नयाँ पुल सञ्चालनमा आएको छ ।