प्रहरी समायोजनको माग गर्दै मधेसका मुख्यमन्त्री र मन्त्रीहरू धर्नामा

प्रहरी समायोजनको माग गर्दै मधेसका मुख्यमन्त्री र मन्त्रीहरू धर्नामा


ग्लोब नेपाल
108
Shares

जनकपुरधाम । पटक-पटक आग्रह गर्दा पनि प्रदेशलाई प्रहरी हस्तान्तरण नगरेको भन्दै संघीय सरकारविरुद्ध मधेस प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु धर्नामा बसेका छन् ।

संघीय सरकारविरुद्ध उनीहरूले आइतबार बिहानैदेखि प्रदेश प्रमुखको कार्यालयमा धर्नामा बसेका हुन् । मधेश भवनभित्रको प्रदेश प्रमुख कार्यालय प्राङणभित्र मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा मन्त्रीहरु धर्ना बसेका हुन् । मुख्यमन्त्री राउतसहित भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, गृह तथा संचार मन्त्री भरत साह, राज्य मन्त्री रुबी कर्ण, खानेपानी तथा उर्जा मन्त्री ओमप्रकाश शर्मासहितका धर्नामा बसेका छन् ।

अल्टिमेटम दिएको समयभित्र पनि प्रदेशलाई प्रहरी हस्तान्तरण नगरेपछि बाध्य भएर धर्नामा बस्नुपरेको मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरत साहले जानकारी दिए । माग पूरा नभएसम्म संघीय सरकारविरुद्ध आन्दोलन जारी राख्ने उनले जानकारी दिए ।

प्रहरी समायोजन गरी प्रदेश सरकार लाई हस्तान्तरण गर्न प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गरी आग्रह गरेको, आन्दोलनकै अल्टिमेटम दिँदै ज्ञापन पठाउँदा समेत ध्यान नदिएपछि प्रदेश सरकारले पहिलो चरणको आन्दोलन घोषणा गरेको छ । यो आन्दोलन अन्तर्गत आइतबारदेखि एक सातासम्म दैनिक २ घण्टा धर्ना दिइने कार्यक्रम उनीहरुले तय गरेका छन् ।