एउटै चुनाव चिन्ह र घोषणा पत्रमा चुनाव लड्ने प्रचण्ड-बाबुरामबीच सहमति

एउटै चुनाव चिन्ह र घोषणा पत्रमा चुनाव लड्ने प्रचण्ड-बाबुरामबीच सहमति


ग्लोब नेपाल
351
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का नेताहरु नेकपा माओवादी केन्द्रको चुनाव चिह्नमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन लड्न तयार भएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग बाबुराम भट्टराईले गरेको छलफलअनुसार चुनाव चिह्न एउटै र साझा घोषणापत्र बनाएर जाने विषयमा पनि सहमति भएको छ । यसको औपचारिक घोषणा हुन बाँकी छ ।

उनीहरूबीच पहिला नै अनौपचारिक सहमति भए पनि औपचारिक सहमति आइतबार भएको बताइएको छ । माअ‍ोवादी स्रोतका अनुसार प्रचण्डका भाञ्जा गोकुल भण्डारीको निवासमा नेताहरूबीच छलफल भई उक्त विषय टुंगो लागेको हो । ‘उहाँहरूबीच केही दिनदेखि बैठक भइरहेका छन्। एकै चुनाव चिन्ह र समाजवादउन्मुख घोषणा पत्र बनाएर चुनावमा जाने सहमति नजिक पुगेका छौं,’ स्रोतले भन्यो, ‘निर्णयमा पुग्न र औपचारिक घोषणा हुन केही दिन लाग्छ।’

दुई पार्टी एक चुनाव चिन्हको मान्यताबाट अघि बढिने र निर्वाचन आयोगमा पनि सोही बमोजिम जानकारी गराइने भएको छ । योबाहेक सीट बाँडफाँटका बारेमा भने छलफल हुन बाँकी छ । नेसपा दल अलग्गै रहे पनि चुनाव चिन्ह भने माओवादीको कायम हुनेछ ।

यो सहमतिसँगै अब नेसपा सत्ता गठबन्धनको छैटौं घटक हुने निश्चित भएको छ ।