सांसद हाजिर गरेर हिँडेपछि प्रतिनिधिसभा बैठक मंगलबारसम्म स्थगित

सांसद हाजिर गरेर हिँडेपछि प्रतिनिधिसभा बैठक मंगलबारसम्म स्थगित


ग्लोब नेपाल
216
Shares

काठमाडौं । सांसदहरूको गणपूरक संख्या नपुगेपछि मंगलबार प्रतिनिधि सभाका लगातार दुईवटा बैठक स्थगित भएका छन् ।

सरकारले प्रस्तुत गरेका विधेयक पारित गर्नु सत्तापक्षका सांसदहरुको दायित्व हो । तर, सत्तापक्षकै सांसदहरुले बंक गरेपछि आइतबार दुईपटक प्रतिनिधिसभा बैठक स्थगित भयो । सांसदहरूले हाजिर गरेर बाहिरिँदा प्रतिनिधिसभामा विधेयक पारित गर्ने प्रक्रिया नै अवरुद्ध हुन पुगेको हो ।

बैठक प्रारम्भ हुँदा १७९ सांसदले हाजिर गरे पनि बैठकमा विधेयक निर्णयार्थ प्रस्तुत गर्दा भने ६७ सांसद मात्रै उपस्थित रहेको संसद् सचिवालयले जनाएको छ । आईतबार लगातार दुई बैठक स्थगित भएका हुन् । पहिलो चरणको बैठकमा सभामुखले कार्यसूचीमा रहेका विधेयक अघि बढाउँदा गणपूरक संख्या नपुगेको भन्दै प्रश्न उठ्यो । सचिवालयका कर्मचारीमार्फत गणना गर्दा आवश्यक संख्या ६९ जना सांसद उपस्थित नभएका कारण सभामुख अग्नि सापकोटाले बैठक स्थगित गरे ।

अपरान्ह साढे २ बजे पुनः बसेको बैठकमा पनि कार्यसूची अघि बढाउन खोज्दा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गणपूरक संख्या रहेको वा नरहेको भनी एकपटक गन्न आग्रह गरे ।

उनको आग्रह बमोजिम ३ मिनेट जनाउ घण्टी बजाइयो । त्यसबीचमा पनि गणना गर्दा ६७ जनामात्र सांसद उपस्थित भएका कारण एक चौथाई सांसद नभएको भन्दै प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न नमिल्ने भनी सभामुखले साउन ३१ मंगलबारसम्मलाई बैठक स्थगित गरेका छन् ।