न्यायबद्ध रुपमा टिकट वितरण हुन्छ, ढुक्क भएर चुनावमा लाग्नुहोस्: देउवा

न्यायबद्ध रुपमा टिकट वितरण हुन्छ, ढुक्क भएर चुनावमा लाग्नुहोस्: देउवा


ग्लोब नेपाल
162
Shares

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सबैलाई न्याय हुनेगरी टिकट वितरण गरिने बताएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा सोमबार ललितपुरमा आयोजित पार्टीबाट निर्वाचित भएका स्थानीय पालिका प्रमुख र उपप्रमुखहरुको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले न्यायसङ्गत ढंगबाट टिकट वितरण गरिने भन्दै ढुक्क भएर चुनाव प्रचारमा लाग्न आग्रह गरेका हुन् । प्रधानमन्त्री देउवाले भने, ‘न्यायबद्ध रुपमा टिकट वितरण हुन्छ । कसैलाई अन्याय हुँदैन । तपाईंहरू ढुक्क भएर चुनावमा लाग्नुहोस् ।’ उनले भने ।

देउवाले ४ मंसिरको चुनावबाट कांग्रेसलाई सबभन्दा ठूलो पार्टी बनाउनुपर्ने बताए । २०७४ सालको प्रदेश र प्रतिनिधसभा निर्वाचनमा एक्लै लड्दा कांग्रेसले राम्रै मत पाएपनि अरुले गठबन्धन गरेका कारण जित्न नसकेको स्मरण गरे । देउवाले अघि भने, ‘स्थानीय चुनावमा पनि तालमेल गरेर सफलता पायौं, फेरि गठबन्धन गरेर सफलता हासिल गर्नुछ ।’

आफूले विशेष परिस्थितिमा सरकारको नेतृत्व लिएको सभापति देउवाले उल्लेख गरे । ‘हाम्रो ध्यान मंसिर ४ मा छ । पहिलो पार्टी बन्छ भन्ने अठोटका साथ हामी लाग्नु पर्छ । त्यो समर्पणका साथ लाग्नुहुनेछ भन्ने लागेको छ । २०७४ सालमा हामी वाम गठबन्धनसँग एक्लै लडेर पराजित भएका थियौंस अहिले हाम्रो गठबन्धन छ । कति ठाउँमा जित्छौं भन्ने कुरा महत्त्वपूर्ण हो । त्यसैले यसमा साथीहरूले मनन गरेर लाग्नु होला‚’ उनले भने‚ ‘पार्टीका साथीहरूलाई भेदभाव गर्दिनँ । सबैलाई मिलाएर लाने इच्छा छ ।’

गठबन्धनमा रहेका दलहरुको जनाधार हेरेर तालमेलको गृहकार्य गर्न कार्यदल गठन गरिसकेको उनले बताए । कांग्रेस सभापति देउवाले अघि भने, ‘बढी सिटमा उम्मेदवारी दिने भन्दा पनि बढी सिट जित्नु ठूलो हो ।’

उनले पार्टीमा कसैलाई पनि काखापाखा र भेदभाव नगर्ने बताए । तर गठबन्धन छँदैछ, चुनाव जितिहाल्छौं, टिकट चाहिन्छ नभन्न समेत आग्रह गरे ।