‘१० करोड रुपैया खर्चेर चुनाव जित्ने गाउँपालिका अध्यक्ष को हुन् ?’

‘१० करोड रुपैया खर्चेर चुनाव जित्ने गाउँपालिका अध्यक्ष को हुन् ?’


ग्लोब नेपाल
8.1k
Shares

काठमाडौँ । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चुनावमा करोडौं खर्च हुने भनेर दिएको अभिव्यक्तिबारे सूचना मागेको छ ।

आयोगले पूर्वप्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्तिले आयोगले तोकेको हदभन्दा बढी खर्च हुने गरेको अभिव्यक्ति दिएको भन्दै सूचना उपलब्ध गराउन पत्र पठाएको हो । ‘देशको पूर्वप्रधानमन्त्री, सत्तारुढ दलका अध्यक्ष, प्रतिनिधिसभा सदस्य तथा जिम्मेवार दलको नेताले दिएको अभिव्यक्तिलाई आयोगले गम्भीरताका साथ लिई प्रमाणका रूपमा प्रयोग गर्न सक्ने हुन्छ’, आयोगको पत्रमा भनिएको छ ।

आयोगले प्रचण्डलाई गाउँपालिका अध्यक्षमा चुनाव जित्न १० करोड रुपैयासम्म खर्च गर्ने उम्मेदवार बारेको बस्तुगत सूचना उपलब्ध गराई दिन आग्रह गरेको छ । आयोगको पत्रमा भनिएको छ, ‘…सञ्चार माध्याममा प्रकाशित प्रसारित तपाईको अभिव्यक्ति बमोजिम तपाईले पाएको सूचना अनुसारको गाउँपालिका अध्यक्षमा चुनाव जित्न १० करोड रुपैयासम्म खर्च गर्ने सूचनाका साथै आयोगले तोकेको हदभन्दा बढी खर्च गर्ने उम्मेदवार बारेको बस्तुगत सूचना आयोगमा उपलब्ध गराई दिन हुन निर्णयअनुसार अनुरोध गरिन्छ ।’

आयोगले तोकिएको हदभन्दा बढी खर्च गर्ने तथा खर्चविवरण नबुझाउने उम्मेदवारमाथि कारबाही प्रक्रिया सुरु गरिएको पनि उक्त पत्रमा उल्लेख गरेको छ । निर्वाचन आयोगका कानुन अधिकृत मोहनराज जोशीको नामबाट साउन १० माओवादी पार्टी कार्यालयलाई पत्र पठाइएको थियो । कार्यालयले पत्र बुझ्न नमानेपछि साउन ११ गते हुलाकमार्फत पुनः पत्र पठाइएको आयोगले जनाएको छ ।

प्रचण्डले गत साउन ९ गते नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको ९औं स्मृति दिवस कार्यक्रममा एउटा गाउँपालिकाको अध्यक्षले १० करोड खर्च गरेर जितेको देखिएको बताएका थिए । उनको उक्त अभिव्यक्तिलाई लिएर आयोगले पत्र पठाएको हो।