सत्ता गठबन्धनको कार्यदलले कसरी बनाउँदैछ सिट बाँटफाँटको मापदण्ड ?

सत्ता गठबन्धनको कार्यदलले कसरी बनाउँदैछ सिट बाँटफाँटको मापदण्ड ?


ग्लोब नेपाल
324
Shares

काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनले सिट बाँडफाँटका लागि गठन गरेको कार्यदलले आपसमा बाँडफाँट मिलाएर नेतृत्वलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सिट बाँडफाट कार्यदलको बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दुईवटा मुख्य आधारमा रहेर सिट बाँडफाट गर्ने सहमति गरेको छ । कार्यदलको बैठकपछि सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ०७४ सालको निर्वाचनमा प्राप्त समानुपातिक मत र ०७९ को स्थानीय निर्वाचनमा प्राप्त मतलाई आधार बनाएर मापदण्ड बनाउनेबारे छलफल भएको बताए ।

कार्कीका अनुसार ०७४ को चुनावमा सहभागी नभएको नेकपा (एकीकृत समाजवादी)को हकमा विशिष्ट प्रकारको मापदण्ड बनाइनेछ । सिट बाँडफाँटको टुंगो पनि चाँडै लाग्ने उनले बताए । अरू दलका नेताहरूले पनि विगतका निर्वाचनमा आएको मतलाई प्रमुख आधार बनाउनुपर्नेमा जोड दिइरहेका छन् ।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजकत्वमा रहेको कार्यदलले सिट बाँडफाँटको विषय आपसमा सहमति गरेर नेतृत्वलाई प्रतिवेदन बुझाउने अन्तिम तयारी पनि गरिहेको छ। कार्यदलका सदस्य कार्कीले भने, ‘हामीले सकेसम्म हाम्रै तहमा मिलाएर नेतृत्वमा प्रतिवेदन दिने मनसाय छ।’

कार्यदलको अर्को बैठक बुधबार अपराह्न ४ बजेका लागि बोलाइएको छ । पाँचदलीय गठबन्धनका शीर्ष नेताहरूको बैठकले प्रदेश र प्रतिनिधिसभा चुनावमा तालमेल गर्ने निर्णय गर्दै कार्यदल गठन गरेको थियो । ११ सदस्यीय कार्यदललाई सिट बाँडफाँटको खाका तयार गरी प्रतिवेदन बुझाउन भनिएको छ।