नागरिकता विधेयक जस्ताको तस्तै अघि बढाउने गठबन्धनको निर्णय

नागरिकता विधेयक जस्ताको तस्तै अघि बढाउने गठबन्धनको निर्णय


ग्लोब नेपाल
135
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकले राष्ट्रपतिबाट फिर्ता भएर आएको नागरिकता सम्बन्धी विधेयक पुनः जस्ताको तस्तै संसद‍्मा पेश गर्ने निर्णय गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले २९ साउनमा फिर्ता गरेको नागरिकता विधेयक मंगलबारको संसद बैठकमा पेश भइसकेको छ। संसदमा छलफलका लागि पेश भएको उक्त विधेयकलाई मंगलबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले हुबहु राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेको एक नेताले बताए ।

गठबन्धन बैठकमा सहभागी कानूनमन्त्री गोविन्द वन्दीले विधेयकलाई यसअघिकै प्रक्रियाबाट पारित गरिने बताए । ‘सम्मानित राष्ट्रपतिले आफ्नो संविधानमा भएको अधिकार प्रयोग गर्नुभएको हो । प्रतिनिधिसभा नियमावली अनुसार सरकारले फेरि विधेयक संसद‍्मा पेस गर्छ ।’

उनले विधेयकलाई समितिमा नलैजाने निर्णय भएको जानकारी दिए । ‘पहिले पनि समितिमा लगिएको होइन । अहिले पनि समितिमा जाँदैन । हाउसमै छलफल हुन्छ । संसद् बैठकबाटै पारित गर्ने गरी पेश गर्छौँ,’ उनले भने ।

यसअघि सरकारले प्रतिनिधिसभामा सर्टकर्ट विधिबाट एक दिनमा नागरिकता विधेयक पारित गरेको थियो । समितिमा नलगीकन हतारमा पारित गरेकोमा सरकार आलोचित बनेको थियो । तर, अब पनि सरकारले पुरानै शैली दोहोर्‍याउने भएको छ।