हामी पनि सत्ता गठबन्धनकै अंग हौं, कसैलाई भ्रम नपरोस्ः बाबुराम भट्टराई

हामी पनि सत्ता गठबन्धनकै अंग हौं, कसैलाई भ्रम नपरोस्ः बाबुराम भट्टराई


ग्लोब नेपाल
81
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले आफूहरु सत्तारुढ गठबन्धनकै अंग भएको बताएका छन् ।

नेकपा माओवादी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा मंगलबार दुई पार्टीका शीर्ष नेताहरुको छलफलपछि सञ्चारकर्मीसँगको कुराकानीमा गर्दै भट्टराईले सत्ता गठबन्धनको मापदण्ड अनुसार आगामी चुनावमा तालमेल हुने बताए । उनले भने, ‘हामी पनि गठबन्धनको एक अंग हौं, यसमा कसैलाई भ्रम नपरोस् , गठबन्धनको जे मापदण्ड बन्छ, त्यहीअनुसार हुन्छ ।’

भट्टराईले अग्रगामी परिवर्तनका बाँकी काम पूरा गर्न एक्लाएक्लै भन्दा मिलेर अगाडि बढ्ने सहमति अनुसार माओवादी केन्द्रसँग एउटै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्न लागेको बताए । ‘तत्काल त चुनावी प्रयोजनका निम्ति मात्रै हो । तर हाम्रो लक्ष्य नेपालमा जुन ढंगको अग्रगामी परिवर्तनको एजेण्डा बाँकी छन्’, उनले भने, ‘त्यसलाई पूरा गर्न हामी सबैले एक्लाएक्लै भन्दा मिलेर नयाँ ढंले नयाँ आधारमा एकतावद्ध भएर जानु मुलुकको ऐतिहासिक आवश्यकता हो । त्यो दिशातिर हामी जान्छौं ।’

पेरिसडाँडाको छलफलमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, नेसपा अध्यक्ष भट्टराई, अर्का अध्यक्ष महिन्द्रराय यादव सहभागी थिए ।