महाभियोग दर्ता भएको ६ महिनापछि बोलाइयो सिफारिस समितिको पहिलो बैठक

महाभियोग दर्ता भएको ६ महिनापछि बोलाइयो सिफारिस समितिको पहिलो बैठक


ग्लोब नेपाल
135
Shares

काठमाडौँ । सर्वोच्च आदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध संघिय संसदको तल्लो सदन प्रतिनिधि सभामा महाभियोग दर्ता भएको ६ महिनापछि कारबाही प्रक्रिया सुरु हुने भएको छ ।

न्यायपालिका प्रमुखविरुद्ध महाभियोग दर्ता भएको ६ महिनापछि प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिको पहिलो बैठक बुधबार साढे ११ बजेका लागि बोलाइएको छ । बुधबार समितिको बैठक बसेर छानबिन प्रक्रिया सुरु हुन लागेको हो ।

बुधबारको बैठकमा सभापतिको निर्वाचन, समितिको कार्यविधिलगायतका एजेन्डा रहेको महाभियोग सिफारिस समितिका सचिव लक्ष्मी गौतमले बताए । समितिको पहिलो बैठकको अध्यक्षता कांग्रेसबाट समिति सदस्य रहेका रामबहादुर विष्टले गर्नेछन्। उनी समिति सदस्यहरूमा सबैभन्दा ज्येष्ठ हुन् ।

समितिको पहिलो बैठक बसेको ७ दिनभित्र महाभियोग लागेका संवैधानिक पदाधिकारीलाई सफाइ प्रस्तुत गर्न बोलाउनुपर्ने कानुनी प्रावधान छ । बुधबारबाटै निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोगका सम्बन्धमा प्रारम्भिक अध्ययन सुरु हुनेछ ।

जबराविरुद्ध विभिन्न २१ आरोप लगाएर सत्तारुढ दलहरू कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले फागुन १ गते प्रतिनिधिस भामा महाभियोग दर्ता गराएका थिए । महाभियोग दर्ता भएपछि जबरा स्वतः निलम्बनमा परेका थिए ।

११ सदस्यीय महाभियोग सिफारिस समितिमा सांसदहरु एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा. शिवमाया तुम्बाहाङ्फे सदस्य छन् ।