निर्वाचन खर्च नबुझाउने १ लाख २३ हजार ७८३ उम्मेदवारलाई आयोगले कारबाही गर्ने

निर्वाचन खर्च नबुझाउने १ लाख २३ हजार ७८३ उम्मेदवारलाई आयोगले कारबाही गर्ने


ग्लोब नेपाल
108
Shares

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेर खर्च विवरण नबुझाउने उम्मेदवारहरूलाई कारबाहीको प्रक्रिया सुरु भएको जनाएको छ ।

आयोगले मंगलबार विज्ञप्ति जारी गरेर स्थानीय तह निर्वाचनमा गरेको खर्च नबुझाउने र तोकिएको समयभन्दा ढिलो बुझाउने उम्मेदवारलाई कारबाही गर्ने प्रक्रिया थालेको हो । अहिलेसम्म पनि निर्वाचन खर्चको विवरण नबुझाउने एक लाख १५ हजार एक सय ३१ जना र तोकिएको समयावधिभन्दा ढिलो गरी निर्वाचन खर्चको विवरण बुझाउने आठ हजार ६ सय ५२ जनासमेत गरेर १ लाख २३ हजार ७ सय ८३ जना उम्मेदवारमाथि आयोगले कारबाही प्रक्रिया अघि बढाएको हो ।

तोकिएको समयावधिभित्र के कुन कारणले निर्वाचन खर्चको विवरण नबुझाएको हो रु तोकिएको समयावधिभित्र निर्वाचन खर्चको विवरण नबुझाएकोमा तपाईँलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ बमोजिम किन कारबाही हुनु नपर्ने हो ? भनी आफ्नो सफाइ सहितको स्पष्टीकरण ७ दिनभित्र सम्बन्धित जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा पेश गर्न आयोगले आदेश गरेको आयोगका प्रवक्तासमेत रहेका सहसचिव शालिग्राम शर्माले जानकारी दिए ।

‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा भाग लिई तोकिएको समयावधिभित्र निर्वाचन खर्चको विवरण नबुझाउने १ लाख १५ हजार १३१ जना र तोकिएको समयावधिभन्दा ढिलोगरी निर्वाचन खर्चको विवरण बुझाउने ८ हजार ६५२ जना समेत कूल जम्मा १ लाख २३ हजार ७८३ जना उम्मेदवारहरूलाई तोकिएको समयावधिभित्र के कुन कारणले निर्वाचन खर्चको विवरण नबुझाएको हो ? तोकिएको समयावधिभित्र निर्वाचन खर्चको विवरण नबुझाएकोमा तपाईँहरूलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ बमोजिम किन कारबाही हुनु नपर्ने हो ? भनी आफ्नो सफाई सहितको स्पष्टीकरण ७ (सात) दिनभित्र सम्बन्धित जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा पेस गर्न आयोगले आदेश दिएको छ,’ आयोगका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

२०७९ साल वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनका उम्मेदवारमध्ये २१ हजार २ सय ३० जना उम्मेदवारले मात्र तोकिएको समयभित्र निर्वाचन खर्चको विवरण पेश गरेका थिए ।