न्युनतम पारिश्रमिक उपलब्ध नदिएको भन्दै सामुदायिक विद्यालयका कर्मचारीद्वारा धर्ना

न्युनतम पारिश्रमिक उपलब्ध नदिएको भन्दै सामुदायिक विद्यालयका कर्मचारीद्वारा धर्ना


ग्लोब नेपाल
621
Shares

काठमाडौँ । देशभरका सामुदायिक विद्यालयका कर्मचारी (लेखापाल र कार्यालय सहयोगी) ले शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा धर्ना दिएका छन् ।

सरकारले न्युनतम पारिश्रमिक पनि उपलब्ध नगराएको भन्दै बुधबार उनीहरुले काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेका हुन् । बिहान १० बजेदेखि ५ बजेसम्म केन्द्र परिसरमा धर्ना दिने नेपाल विद्यालय कर्मचारी परिषद्का वाग्मती प्रदेश अध्यक्ष रामशरण फुँयालले बताए । सरकारले लेखापाललाई मासिक १३ हजार ५ सय र कार्यालय सहयोगीलाई ८ हजार रुपैयाँ तलब उपलब्ध गराउँदै आएको छ ।

आर्थिक वर्ष २०७८/०७९ को बजेट वक्तव्यमा प्रारम्भिक बालविकास केन्द्रका शिक्षिका र विद्यालय कर्मचारीलाई सरकारले निर्धारण गरेबमोजिम १५ हजार न्यूनतम मासिक पारिश्रमिक उपलब्ध गराउने उल्लेख छ । त्यसका लागि सरकारले मासिक पारिश्रमिक ८ हजार उपलब्ध गराउने र न्यूनतम पारिश्रमिकभन्दा कम हुन आउने रकम सम्बन्धित स्थानीय तहले बेहोर्ने व्यवस्था गरिएको भए पनि केन्द्र सरकारको निर्देशनअनुसार स्थानीय तहले थप रकम उपलब्ध गराएका छैनन् ।

देशभर करिब ४० हजार विद्यालय कर्मचारी कार्यरत छन् । सरकारले उनीहरुको तलबभत्ताका लागि वार्षिक साढे ५ अर्ब रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको छ । ईसीडी शिक्षक, लेखापाल र कार्यालय सहयोगीको सामुदायिक विद्यालयमा शून्य दरबन्दी छ ।