सत्ता गठबन्धन कार्यदलको बैठक निष्कर्षविहीन

सत्ता गठबन्धन कार्यदलको बैठक निष्कर्षविहीन

शीर्ष नेतालाई भेटेर प्रगति विवरण सुनाइने


ग्लोब नेपाल
108
Shares

काठमाडौं । आगामी चुनावका लागि तालमेलको मोडालिटी बनाउन सत्तारुढ दलहरुको गठवन्धनले बनाएको कार्यदलको बुधबारको बैठक निष्कर्षविहीन बनेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको बैठकमा संयोजकले सिट बाँडफाँटको मोडालिटी पेश गर्ने भनिएपनि सहमति नभएपछि बैठक निष्कर्षविहीन बनेको कार्यदलका सदस्य रामसहाय यादवले जानकारी दिए । उनका अनुसार हालसम्म भएको बैठकको प्रगतिका विषयमा अब शीर्ष नेतालाई ब्रिफिङ गरेर सोही अनुसार शनिबार बैठक बस्ने सहमति भएको छ ।

कार्यदललाई दिएको जिम्मेवारी पूरा गर्ने अन्तिम चरणमा पुगे पनि सहमति नभएको कार्यदलका अर्का सदस्य तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले बैठक सकारात्मक दिशामा अघि बढिरहेको उल्लेख गरे । तर, सिट बाँडफाँडका विषयमा के के प्रगति भयो भन्ने सुनाउन चाहेनन् । ‘अहिलेसम्म भएका छलफलका विवरण शीर्ष नेताहरुलाई अवगत गराउने र त्यसपछि बस्ने बैठकबाट निर्णयमा पुग्ने सहमति भएको छ,’ उनले भने ।

सिट बाँडफाँडका विभिन्न मोडालिटीमा छलफल भइरहेको कार्कीले बताए । सबैलाई न्यायपूर्ण तरिकाले सिट विभाजन गर्ने सहमति भएको उनको भनाइ थियो ।