सिट बाँडफाँटमा कार्यदलबाटै साझा धारणा बनाउन गठबन्धनको निर्देशन

सिट बाँडफाँटमा कार्यदलबाटै साझा धारणा बनाउन गठबन्धनको निर्देशन


ग्लोब नेपाल
162
Shares

काठमाडौं । आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि तालमेलको मोडालिटी बनाउन गठित गठबन्धनको कार्यदलले अहिलेसम्म भएका गरेका कार्यविवरण शीर्ष नेताहरूलाई ब्रिफिङ गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार कार्यदलका सदस्यसहित गठबन्धनका शिर्ष नेताहरु सहभागि बैठकमा कार्यदलमा हालसम्म भएका छलफलका प्रगति विवरण शीर्ष नेताहरूलाई ब्रिफिङ गरिएको कार्यदलका सदस्य एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बैठकपछि पत्रकारहरूसँग बोल्दै कार्कीले नेताहरूबाट कार्यदललाई चाँडो आफ्नो कार्यसम्पादन गर्न पनि निर्देशन भएको जानकारी दिए ।

‘आजको बैठकमा हामीले कार्यदलमा भएको छलफलको निष्कर्षहरू प्रस्तुत गर्‍यौं । नेताहरुले पनि त्यसबारे धारणा राख्नुभयो,’ उनले भने, ‘नेताहरुले कार्यदलले नै साझा धारणा बनाउन र कार्य जिम्मेवारी पूरा गर्न निर्देशन दिनुभएको छ ।’ उनले अब कार्यदलले चाँडोभन्दा चाँडो सिट बाँडफाँडको काम पूरा हुने बताएका छन् ।

कार्कीले कार्यदलले तयार गरेको तालमेलको आधारका सबै विवरणका बारेमा जानकारी गराएको र चाँडै काम सम्पन्न गर्ने जानकारी समेत दिए । उनले तालमेललाई निष्कर्षमा पुर्‍याउने बाटोमा कार्यदल अघि बढेको पनि बताए ।

प्रतिनिधिसभा र प्रदेशसभा दुवैको सिट बाँडफाँट एकैपटक हुने पनि कार्कीले बताए ।