भदौ २० गतेदेखि समानुपातिक तर्फको मतपत्र छपाई सुरु गर्ने आयोगको तयारी

भदौ २० गतेदेखि समानुपातिक तर्फको मतपत्र छपाई सुरु गर्ने आयोगको तयारी

दलहरूले दर्ताका लागि बुझाएको आवश्यक कागजात माथि जाँच बुझ जारी


ग्लोब नेपाल
108
Shares

काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने संसदीय निर्वाचनको लागि दर्ता भएका राजनीतिक दलका निवेदन अध्ययन गरिरहेको छ । आगामी निर्वाचन प्रयोजनका लागि आयोगमा ८४ दल दर्ता भएका छन् । ती दलहरूले दर्ताका लागि बुझाएको आवश्यक कागजात माथि जाँच बुझ गरिरहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

जाँचबुझका क्रममा दलहरूले बुझाउनुपर्ने कागजात नपुगेमा वा अस्पष्ट भएमा पुनः कागजात माग्ने उनले बताए । आयोगले आगामी भदौ ८ गते दर्ता भएका दलको अन्तिम विवरण प्रकाशन गर्ने तयारी गरेको छ । विवरण प्रकाशन गरेपछि उनीहरूले संघ, प्रदेश, प्रत्यक्ष तथा समानुपातिक निर्वाचनमा सहभागी हुनका लागि निवेदन दिनुपर्ने उनले बताए । राजनीतिक दलहरूले असोज २ र ३ गते समानुपातिक तर्फको निर्वाचनका लागि बन्द सूची बुझाउने कार्यसूची रहेको छ ।

यस्तै निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीको खरिद प्रक्रिया सुरु गरिएको पनि उनले बताए । आयोगले आगामी भदौ २० गतेदेखि समानुपातिक तर्फको मतपत्र छपाई सुरु गर्ने तयारी गरेको छ । आयोग सहित राजनितिक दलहरू पनि निर्वाचनको तयारीमा जुटिरहेका छन् । सत्ता गठबन्धनमा भने निर्वाचनका लागि सिट बाँडफाँटको विषय पेचिलो बन्दै गएको छ । सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेपनि कुरा मिल्न सकेको छैन । प्रतिनिधिसभा र प्रदेशसभामा कुन दललाई कति सिट भागबण्डा गर्ने भन्नेमा कार्यदलमा कुरा नमिलेपछि कार्यदल सदस्यले शीर्ष नेतासँग छलफल गरेर मापदण्ड तयार गर्ने जनाएको छ ।