स्थायी कमिटीमा प्रचण्डले नाम पढे, अरुले ताली बजाए अनुमोदन गरे !

स्थायी कमिटीमा प्रचण्डले नाम पढे, अरुले ताली बजाए अनुमोदन गरे !

२१ सदस्यीय पदाधिकारीमा महिला एक जना मात्रै !


ग्लोब नेपाल
729
Shares

काठमाडौँ । पार्टी महाधिवेशन भएको आठ महिनापछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू अनुकूल पदाधिकारी चयन गरेका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले महासचिवसहित २१ जना पदाधिकारीको नाम प्रस्ताव गरेका थिए । स्थायी कमिटीका सदस्यहरूले उक्त नामहरुलाई ताली बजाएर सर्वसम्मत अनुमोदन गरेका छन् ।अनुमाेदन गरिएकाे २१ सदस्यीय पदाधिकारीमा महिला एक जना मात्रै परेकी छन् । लोकतान्त्रिक पद्धतिमा विश्वास राख्ने प्रचण्डले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई खुम्चाएर स्थायी कमिटीबाट आफू अनुकुलको निर्णय गराएका छन् ।

पार्टीभित्र नेताहरुलाई लडाए, जुधाएर अन्तिममा सबैको साझा नेताका रुपमा सबैको व्यवस्थापन गरेर ३५ वर्षदेखि निर्विकल्प नेतृत्व गर्दै आएका प्रचण्डले यसपटक पनि आफूलाई अप्ठेरो पर्ने कामबाट सहज पार पाएका छन् । तर, प्रचण्डलाई यसअघि नै महासचिव लगायत मुख्य पदका आकांक्षी नेताहरुले जसको नाम प्रस्ताव गरे पनि मान्ने वचन दिइसकेका थिए । त्यस कारण पनि उनलाई यो निर्णय गराउन सहज भएको हो ।

स्थायी कमिटी बैठकले महासचिवमा देव गुरुङलाई चयन गरेको छ। अध्यक्ष प्रचण्डले गुरुङको नाम महासचिवका लागि बैठकमा प्रस्ताव गरेका थिए। यस्तै महासचिवका लागि दुई मुख्य दाबेदार मानिएका नेता वर्षमान पुन र जनार्दन शर्मालाई भने प्रचण्डले उपमहासचिवको जिम्मेवारी दिएका छन् ।

कृष्णबहादुर महरालाई उपाध्यक्षको जिम्ममेवारी दिइएको छ। उपमहासचिवमा पुन र शर्मासँगै शक्ति बस्नेत, गिरिरामणी पोखरेल, हरिबोल गजुरेल, पम्फा भुसाल र मात्रिका यादव चयन भएका छन्। यस्तै प्रचण्डले सचिवमा दिनानाथ शर्मा, चक्रपाणि खनाल, लिलामणि पोखरेल, देवेन्द्र पौडेल, हितमान शाक्य, हित राज पाण्डे, डिल्लीराम आचार्य र राम कार्कीलाई बनाएका छन् ।

कोषाध्यक्षमा भने श्रीराम ढकाल चयन भएको माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। उनले हाल दिइएको जिम्मेवारी विशेष महाधिवेशनसम्मका लागि मात्र भएको बताएका छन्। महाधिवेशन सकिएपछिको पहिलो केन्द्रीय कमिटीको अपुरो बैठकबाट प्रचण्ड अध्यक्षमा चयन भएका थिए ।

महासचिवका मुख्य दावेदार रहेका जनार्दन शर्माले भने पदाधिकारी चयनप्रति असन्तुष्टि जनाएका छन् । माओवादीका एक नेताले दिएको जानकारी अनुसार शर्माले आफू यो प्रक्रियामा असहमत रहेको बताएका छन् ।