काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ । घाँटीको क्यान्सरबाट पीडित गिरीको मेडिसिटी अस्पतालमा उपचारको क्रममा शनिबार निधन भएको हो ।
प्रतिनिधिसभा सदस्य समेत रहेका गिरीको उपचारमा संलग्न मेडिसिटी अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा.पंकज वर्मनका अनुसार शनिबार राती ९ः३० बजे उनको निधन भएको हो । करिब पाँच वर्षअघि देखि नेता गिरीलाई घाँटीको क्यान्सरले सताएको थियो । त्यसपछि उनले भारतमा उपचार गरेका थिए । त्यसयता उनी पटक–पटक उपचारका लागि भारत जाने र आउनेक्रम चलिरहेको थियो।
यसपटक पनि लामो उपचारपछि नेपाल फर्किएका गिरी साउन पहिलो साता ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पताल भर्ना भएका थिए । घाँटीको क्यान्सरको संक्रमण शरीरका अन्य भागमा समेत फैलिएपछि शुक्रबारदेखि भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो ।
उनको निधनले मुलुकले अपुरणीय क्षति व्योहोरेको कांग्रेस नेताहरुले बताएका छन् । कांग्रेस संसदीय दलका सचेतक मीन विश्वकर्माले शोक विज्ञप्ति जारी गर्दै श्रद्धाञ्जली र परिवारजनमा शोक व्यक्त गरेका छन् ।
उनको पार्थिव शरीरलाई भोलि आइतबार विहान ९ बजेदेखि ११ बजेसम्म अस्पताल परिसरमै श्रद्धान्जलीका लागि राखिनेछ । विहान साढे ११ देखि २ बजेसम्म पार्टी कार्यालय सानेपामा राख्ने र पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने सचेतक विश्वकर्माले जानकारी दिएका छन् ।

प्रतिक्रिया