सांसद गिरिको निधनका कारण प्रतिनिधि सभा बैठक स्थगित गर्ने तयारी

सांसद गिरिको निधनका कारण प्रतिनिधि सभा बैठक स्थगित गर्ने तयारी


ग्लोब नेपाल
81
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको निधनका कारण आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित गर्ने तयारी गरिएको छ।

आईतबार (आज) बिहान ११ बजे बस्ने तय भएको बैठक स्थगित गर्ने र सोमबार दिउँसो १ बजे बस्ने सम्भावना रहेको संसद सचिवालय स्रोतले बतायो । ‘कांग्रेस नेता प्रदीप गिरिको निधनका कारण श्रद्धाञ्जली, अन्त्येष्टि लगायतका कार्यक्रममा सांसदहरु व्यस्त हुनुपर्ने भएकाले बैठक स्थगित गर्नेबारे छलफल भइरहेको छ’, संसद सचिवालय स्रोतले भन्यो । समाजवादी चिन्तक गिरि २०७४ सालको आम निर्वाचनमा सिरहा क्षेत्रनम्बर १ बाट निर्वाचित भएका थिए ।

अन्त्येष्टिपछि संसदबाट शोक प्रस्ताव पारित गर्ने चलन छ । आज संसद बैठक स्थगित गर्ने र गिरिको निधनमा शोक प्रस्ताव सोमबारको बैठकमा गर्ने गरी संसद सचिवालयमा छलफल भइरहेको स्रोतले बतायो ।

गएराति साढे ९ बजे कांग्रेस नेता गिरिको निधन भएको थियो । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका अनुसार आज बिहान साढे ९ बजेदेखि दिउँसो २ बजेसम्म श्रद्धाञ्जलीको कार्यक्रम राखिएको छ । त्यसपछि अन्त्येष्टि गर्ने कार्यक्रम छ ।