भर्जिनियाका नेपालीले सम्झे दिवंगत नेता गिरिलाई

भर्जिनियाका नेपालीले सम्झे दिवंगत नेता गिरिलाई


ग्लोब नेपाल
2k
Shares

भर्जिनिया,अमेरिका। नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरिको निधनप्रति दुःख व्यक्त गर्दै यहाँ एक श्रद्धान्जली कार्यक्रम गरिएको छ।

नेपाली जनसम्पर्क समिति, अमेरिकाको भर्जिनिया च्याप्टरले आईतवार आयोजना गरेको श्रद्धान्जली कार्यक्रममा सहभागीहरुले दिवंगत नेता गिरिको बहुआयामिक व्यक्तित्व र योगदानका बारे स्मरण गरेका थिए। कार्यक्रममा नेपाली कांग्रेसका सह–महामन्त्री एवं् खानेपानीमन्त्री उमाकान्त चौधरीले नेता गिरि आफ्नो राजनीतिक गुरुसमेत रहेको भन्दै उहाँको निधनले कांग्रेस पार्टी र सिंगो मुलुकले नै एक असल चिन्तक र विचारक गुमाएको बताए ।

सकार र पार्टीका तर्फबाट दिवंगत नेता गिरिको तस्वीरमा माल्यार्पण गरेपछि प्रमूख अतिथि समेत रहेका मन्त्री चौधरीले २०६२(६३ सालको आन्दोलनको क्रममा जेलको एकै कोठामा नेता गिरिसंग बसेको स्मरण गर्दै उहाँले आफुलाई सधैं अध्ययन र लेखनका लागि अभिप्रेरित गर्ने गरेको बताए । ‘यो क्षति सिंगो मुलुकका लागि अपुरणीय छ,समाजवादी विचार र व्यवहारका धनी मेरा राजनीतिक गुरु प्रदीप दाईले सधैं युवाहरुलाई अभिप्रेरित गर्नुहुन्थ्यो र समावेशी अधिकारका लागि सधैं वकालत गर्नुहुन्थ्यो’, मंत्री चौधरीको भनाई थियो।

महिला, दलित, मधेशी, जनजातिलगायत सबै समुदाय र वर्गलाई राजनीतिमा समान अधिकार दिनुपर्ने भन्दै मन्त्र िचौधरीले समावेशी सिद्धान्त अवलम्बन गर्नुपर्ने बताए । उनले भने, ‘उहाँ महामानव वीपी कोइरालाले प्रतिपादन गर्नुभएको समाजवादको व्याख्याता समेत हुनुहुन्थ्यो । ’

आफुलाई पहिलोपटक मंत्री बन्न नेता गिरिले नै सहयोग गरेको भन्दै उनले गिरिलाई नेपालको महात्मा गान्धीको रुपमा सम्मान गर्ने गरेको र उहाँले देखाएको बाटोमा हिंड्न सके उहाँप्रति सच्चा श्रद्धान्जली हुने बताए । च्याप्टरका कार्यवाहक सभापति यामकुमार सिटौलाको सभापतित्वमा सम्पन्न श्रद्धान्जली कार्यक्रममा पूर्व सांसद एवं नेपाल मानव अधिकार संगठनका महासचिव बिजुल विश्वकर्माले संगठनको संस्थापक महासचिव समेत रहनु भएका नेता गिरि बहुआयामिक व्यक्तित्वका धनी भन्दै मानवतावादी नेताको रुपमा आफुले बुझेको बताए ।

च्याप्टरका निवर्तमान सभापति एवं नेपाली कांग्रेस १४ औं महाधिवेशन प्रतिनिधि रामशरण हुमागाईंले संचालन गरेको श्रद्धान्जली कार्यक्रममा नेपाली जनसम्पर्क समिति,अमेरिकाका उपसभापति केशब बराल, कांग्रेस १४ औं महाधिवेशन प्रतिनिधि एवं समितिका प्रचार विभाग प्रमूख केन्द्रीय सदस्य गौतम दाहाल, समितिका मेरिल्याण्ड च्याप्टरका सभापति राजेन्द्र सेन्चुरी, समितिका न्यू मेक्सिको च्याप्टरका संस्थापक सभापति डाक्टर देशराज संयोक, प्राध्यापक डाक्टर गोपी उप्रेती, इक्वालिटी फाउन्डेशनका अध्यक्ष मेदिनी अधिकारी, डाक्टर रामहरि सुबेदी, अर्जुन सिग्देल, दोबा ढकाल, जनक अधिकारी, मुक्तिनाथ पन्तलगायतले नेता गिरिको व्यक्तित्व र योगदानका बारे स्मरण गर्दै श्रद्धान्जली व्यक्त गरेका थिए।

नेता गिरिको तस्वीरमा माल्यार्पणपछि सहभागीहरुले दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै एक मिनेट मौनधारण समेत गरेका थिए।