म्यानचेस्टर युनाइटेडसँग लिभरपुल पराजीत

म्यानचेस्टर युनाइटेडसँग लिभरपुल पराजीत



लन्डन । जाडोन सान्चो र मार्कुस रासफोर्डको समान एक गोलमा म्यानचेस्टर युनाइटेडले इङलिस प्रिमियर लिगको जारी सिजनमा पहिलो जित दर्ता गरेको छ । सोमबार घरेलु मैदान ओल्ड ट्राफोर्डमा इरिक टेन हागको टोलीले लिभरपुलमाथि २-१ को जित निकाल्यो ।

पहिलो दुई खेलमा ब्राइटन र ब्रेन्टफोर्डलाई क्रमश २-१ र ४-० को नतिजा सुम्पिएका कारण युनाइटेडमाथि दबाब बढेको थियो । लिभरपुलविरुद्धको खेलमा टेन हागले स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र ह्यारी मग्वायरलाई बेन्चमै राखेका थिए । जुन निर्णय जित सहित तीन अंक जोड्न महत्वपूर्ण साबित बन्यो ।

१६ औं मिनेटमा सान्चोले गरेको गोलमा युनाइटेडले अग्रता लिएको थियो । ५३औं मिनेटमा रासफोर्डले युनाइटेडको अग्रता दोब्बर पारेका थिए । खेल सकिन नौ मिनेट बाँकी रहँदा मोहम्मद सलाहले गरेको गोलमा लिभरपुलले खेलमा फर्कने संकेत गरे पनि त्यो पर्याप्त भने भएन ।

योर्गान क्लोपको टोली भने जारी सिजन लगातार तीन खेलमा जितविहिन रह्यो । पहिलो खेलमा फुलहमसँग २-२ को बराबरीसँगै अंक बाँडेको लिभरपुल दोस्रो खेलमा क्रिस्टल प्यालेससँग १-१ को बराबरीमा रोकिएको थियो ।

युनाइटेडले चौथो खेलमा शनिबार साउथहमटनको भ्रमण गर्नेछ भने लिभपुलले बर्नामाउथलाई आतिथ्य गर्नेछ ।

रोमाको जित, रोकियो युभेन्ट्स
इटालियन सिरी ए फुटबलको दोस्रो खेलमा युभेन्ट्स साम्पडोरियासंग गोलरहित बराबरीमा रोकिएको छ । सोमबार राति युभेन्ट्सले खेलमा पकड बनाएपनी पाएको अवसर सदुपयोग गर्न सकेन ।

बराबरीसँगै युभेन्ट्स २ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा छ । साम्पडोरिया १ अंक जोडेर १६ औं स्थानमा छ । यता, अर्को खेलमा रोमाले संघर्षपूर्ण जित निकाल्यो । रोमाले क्रेमोनेसलाई १-० अन्तरले पराजित गर्यो ।

क्रीस स्मालिङले खेलको ६५ औं मिनेटमा गरेको गोलले रोमाले महत्त्वपूर्ण तीन अंक जोड्यो । लगातार दोस्रो जितसंगै रोमा तेस्रो स्थानमा छ ।