गाडी धनीले नै जब बीमाको पैसा असुल्न चालकलाई गाडी जलाउन लगाए…

गाडी धनीले नै जब बीमाको पैसा असुल्न चालकलाई गाडी जलाउन लगाए…


ग्लोब नेपाल
108
Shares

काठमाडौं । दाङमा एउटा टिपरमा एकाबिहानै भएको आगजनी बीमाको लोभका कारण भएको तथ्य प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

दाङका जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले घोराही उपमहानगरपालिका वडा नं.१८ नवलपुरका गाडी धनी ४१ वर्षीय धनेश्वर भण्डारीको निर्देशनमा गाडी चालक ३२ वर्षीय अरूण चौधरी र सहचालक २६ वर्षीय आकाश चौधरी मिलेर आगो लगाएको तथ्य सार्वजनिक भएको बताए।

प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । मंगलबार बिहान बन्दको मौका छोपी आफैंले चलाउँदै आएको टिपरमा आगजनी गरेको पुष्टी भएपछि प्रहरीले चालक र सहचालक र गाडी धनीलाइ पक्राउ गरेको हो । एसपी काफ्लेका अनुसार घोराही-लमही सडकखण्डको बबई खोलाको पुलमा म‌गलबार बिहान रा १ ख १६९४ नम्बरको टिपरमा आगजनी भएको थियो ।एका बिहानै टिपरमा आगो लागेको देखेपछि स्थानीयबासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।

घटनाबारे सोधपुछ गर्दा सुरुमा चालक चौधरीले चार पाँच जनाको अज्ञात समूहले टिपरमा आगो लगाएर भागेको बताएका थिए । तर सोही समयमा अन्य सवारी सधान निर्वाध रुपमा चलेको बेला टिपरमा मात्र कसरी आगजनी भयो भनेर प्रहरीले घटना शंकास्पद देखेपछि दुवै जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो ।

अनुसन्धानकै क्रममा बीमाको लोभमा गाडी मालिकको सहमतिमा बिग्रेको गाडीमा चालक आफैंले आगजानी गरेको पुष्टि भएको एसपी काफ्लेले बताए ।

बन्दको बाहना बनाएर बिमाको दाबी गर्न आफैंले गाडीमा आगो लगाएको खुलेको उनले बताए ।