प्रचण्डका ‘घरभेटी’को शैलुङ कन्स्ट्रक्सन ३ वर्षका लागि कालो सूचीमा

प्रचण्डका ‘घरभेटी’को शैलुङ कन्स्ट्रक्सन ३ वर्षका लागि कालो सूचीमा

२ चिनियाँसहित १० निर्माण कम्पनीलाई प्रतिबन्ध


ग्लोब नेपाल
1.1k
Shares

काठमाडौँ । सरकारले समयमा काम नसक्ने, निर्माण लागत बढाएर अलपत्र छाड्ने शारदाप्रसाद अधिकारीको निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्सनलाई ठेक्कापट्टामा तीन वर्षका लागि प्रतिबन्ध लगाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमनको कार्यालयले बुधबार (आज) सार्वजनिक सूचना जारी गरी खरिद सम्झौताविपरीत ठेक्का अलपत्र पारेको आरोपमा शैलुङलाई तीन वर्षका लागि कालोसूचीमा राखेको हो ।

अनुगमन कार्यालयले शैलुङसहित १० वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको सार्वजनिक सूचना प्रकाशन गरेको हो । सत्ता र शक्तिको आडमा शैलुङका प्रमुख अधिकारीले ठेक्का हत्याउने, त्यसबापतको पेस्की रकम अन्यत्रै लगानी गरेर सडक, पुललगायत सरकारीरसार्वजनिक संरचना निर्माण अलपत्र पार्दै आएका छन् ।

अधिकारी पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका का ‘घरभेटी’ हुन् । उक्त कम्पनी अहिले शारदाप्रसादका छोरा अनुप अधिकारीको नाममा सारिएको छ । सडक सुधार तथा विकास आयोजना निर्देशनालयको सिफारिसमा भक्तपुर-नगरकोट-सिपाघाट र बालाजु, त्रिशूलीरछहरे-विदुर सडक ठेक्का अलपत्र पारेपछि एआईपीएलसँग जेभीमा रहेको शैलुङलाई तीन वर्ष प्रतिबन्ध लगाइएको हो ।

सोमबारको मन्त्रिपरिषद् बैठकले बालाजु-त्रिशूली सडक खण्डको (मुङख-तीनपिप्ले) साढे ५ किलोमिटर सडक तत्काल अघि बढाउन बोलपत्र आव्हान गरी फास्ट ट्रयाकमा काम गर्नेगरी सैद्धान्तिक सहमति दिइसकेको छ । बर्दघाटको २२० केभी प्रसारण लाइन आयोजना समयमा नसक्ने चोङदिङ इन्टरनेशनल र विद्युतकै अर्को एक आयोजनामा चाङकिङ वाङपियान इलेक्ट्रिक ग्रुपलाई पनि ३ वर्षे प्रतिबन्ध लगाइएको छ ।