२०१६ मा यसरी बनेको थियो नेपालको पहिलो संसद

२०१६ मा यसरी बनेको थियो नेपालको पहिलो संसद

मध्यरातमा बसेको थियो प्रतिनिधि सभाको पहिलो बैठक



काठमाडौं । नेपालको आम निर्वाचनलाई फर्केर हेर्दा नेपाल अधिराज्यको संविधान, २०१५ ले प्रतिनिधि सभा र महासभा नामका दुई सदन सहितको पहिलो संसदको व्यवस्था गरेको थियो ।

२०१५ सालको संविधान अनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट गोप्य मतदानद्वारा निर्वाचित १०९ सदस्यीय प्रतिनिधि सभा र प्रतिनिधि सभाद्वारा निर्वाचित १८ जना र राजाबाट मनोनीत १८ जना गरी कुल ३६ सदस्यसहितको महासभाको व्यवस्था गरिएको थियो । नेपालको पहिलो संसदका दुवै सदनमा नेपाली कांग्रेस सबैभन्दा धेरै सिट जितेर पहिलो दल बनेको थियो ।

प्रतिनिधि सभाः

वि.सं २०१५ फागुन ७ गतेबाट प्रारम्भ भई २०१५ चैत्र २८ सम्म ४५ दिनमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएको थियो । उक्त निर्वाचनको अन्तिम परिणामको घोषणा २०१६ बैशाख २८ गते भएको संसद सचिवालयको रेकर्डमा भेटिन्छ । उक्त प्रतिनिधि सभाको निर्वाचनको परिणाम अनुसार नेपाली कांगे्रसले कुल १०९ मा ७३ सिट जितेर बहुमत ल्याएको थियो ।

यस्तै, नेपाल राष्ट्रवादी गोरखा परिषद २० सिट जितेर दोस्रो, नेपाल कम्युनिष्ट पार्टी ४ सिट जितेर तेस्रो, नेपाल प्रजा परिषद (आचार्य) २ स्थान, नेपाल प्रजा परिषद (मिश्र) १ स्थान र स्वतन्त्रले ४ स्थानमा विजयी भएका थिए । पहिलो संसदीय निर्वाचनमा तत्कालीन विभिन्न ६ वटा राजनीतिक दलबाट संसदमा प्रतिनिधित्व भएको थियो भने ४ जना सदस्यहरु स्वतन्त्रबाट निर्वाचित भएका थिए ।

प्रतिनिधि सभा र महासभामा महिला सदस्य

पहिलो प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेसबाट उम्मेदवार द्वारिका ठकुरानी चन्दले डडेल्धुरा जिल्लाबाट निर्वाचित भएकी थिइन् । यस्तै, महासभामा कमल राणा मनोनीत भएकी थिइन् ।

राती १२ बजे बसेको थियो पहिलो प्रतिनिधि सभा बैठक

संसद सचिवालयका अनुसार नेपालको पहिलो प्रतिनिधि सभाको पहिलो बैठक वि.सं २०१६ असार १६ गते राती १२ बजे सिंहदरबारको ग्यालरी बैठकमा बसेको थियो । उक्त बैठकबाट सभामुखको निर्वाचन नभएसम्मको लागि सभाको कामकारवाही सञ्चालन गर्न राजाबाट जेष्ठ सदस्य गिरीप्रसाद बुढाथोकीलाई कार्यकारी अध्यक्षको रुपमा मनोनीत गरिएको थियो ।

आषाढ १८ गते बसेको प्रतिनिधि सभाको दोस्रो बैठकले सभामुख पदमा कृष्णप्रसाद भट्टराईलाई सर्वसम्मतीले निर्वाचित गरेको थियो । यस्तै आषाढ २१ गते बसेको अर्को बैठकले उपसभामुख पदमा महेन्द्रनारायण निधिलाई निर्वाचित गरेको संसद सचिवालयको रेकर्डमा उल्लेख छ ।

महासभा, २०१६

वि.सं २०१६ सालको पहिलो संसदको माथिल्लो सभाको रुपमा महासभा रहेको थियो । जसमा प्रतिनिधि सभाबाट निर्वाचित १८ जना र तत्कालिन राजाबाट मनोनीत १८ जना गरी ३६ सदस्यीय महासभा रहेको थियो । महासभामा प्रतिनिधि सभाबाट निर्वाचित १८ जना सदस्यहरुको निर्वाचन असार २६ गते र राजाबाट मनोनीत हुने १८ जना सदस्यहरुको मनोनयन असार २९ गते भएको थियो । उक्तमा महासभामा प्रतिनिधिसभाबाट निर्वाचित १८ जना मध्ये सबैभन्दा धेरै नेपाली कांग्रेसबाट १४ जना, नेपाल राष्ट्रवादी गोरखा परिषदका ३ जना र नेपाल कम्युनिष्ट पाटीबाट एक जना गरी १८ जना सदस्य रहेका थिए ।

महासभाको बैठक

नेपाल अधिराज्यको संविधान, २०१५ को धारा २६ अनुसार महासभाको पहिलो बैठक २०१५ श्रावण ४ गते बसेको संसद सचिवालयले उल्लेख गरेको छ ।

महासभाको अध्यक्षको निर्वाचन नभएसम्मको लागि राजाबाट बखानसिंह गुरुङ कार्यकारी अध्यक्षको रुपमा मनोनीत भएका थिए । साउन ५ गते भएको महासभाको दोस्रो बैठकले डम्बरबहादुर सिंहलाई सर्वसम्मतिले महासभाको अध्यक्ष पदमा र साउन ६ गतेको तेस्रो बैठकले उपाध्यक्ष पदमा कमल राणालाई निर्वाचित गरेको थियो ।

स्थायी सदनको रुपमा रहेको महासभाका निर्वाचित सदस्यहरुमध्ये ६ जनाको ७ वर्ष, ६ जनाको ५ वर्ष, ६ जनाको ३ वर्ष रहने र मनोनीतमध्ये ६ जनाको ६ वर्ष, ६ जनाको ४ वर्ष र ६ जनाको २ वर्ष रहने व्यवस्था थियो ।

निर्वाचन इतिहासलाई फर्केर हेर्दा पहिलो संसददेखि नै नेपालको संसद दुई सदनात्मक रहदै आएको छ । हाल नेपालको संविधान (२०७२) ले नेपालको संघिय संसद दुई सदनात्मक हुने व्यवस्था गरेको छ । जसमा माथिल्लो सदनकोरुपमा राष्ट्रिय सभा र तल्लो सदनकोरुपमा प्रतिनिधि सभा रहेको छ ।