काठमाडौं उद्योग वाणिज्य संघले भन्यो: मेयर बालेनले शक्तिको दुरुपयोग गरे

काठमाडौं उद्योग वाणिज्य संघले भन्यो: मेयर बालेनले शक्तिको दुरुपयोग गरे


ग्लोब नेपाल
81
Shares

काठमाडौं । काठमाडौंका व्यापारीहरुको संस्था काठमाडौं उद्योग वाणिज्य संघले महानगरका मेयर बालेन्द्र (बालेन) साहलाई व्यावसायी माथिको धरपकड तत्काल बन्द आग्रह गरेको छ ।

महानगरले केही दिनदेखि अवैध संरचना हटाउने अभियान सुरु गर्दा साना व्यापारीहरु मर्कामा परेको भन्दै संघले भाडा र घरबेटीसँग व्यवसाय सम्झौता गरेर कर तिरेर करौडौं लगानी गरेका व्यावसायी माथिको धरपकड तत्काल बन्द गरिनु पर्ने बताएको हो ।

संघका अध्यक्ष दिनेश श्रेष्ठले जननिर्वाचित मेयर साहले शक्तिको दुरुपयोग गरेको आरोप लगाए । उनले संरचना हटाउने अभियान सुरु गर्दा साना व्यापारीहरु मर्कामा परेको भन्दै गम्भीर आपत्ति समेत जनाए । घरधनी र महानगर बीचको विवादको भुङ्ग्रोमा व्यापारीलाई पारिएको उनको भनाइ छ । ‘अहिलेको विवाद घरबेटी र महानगरको हो, यसमा किन साना व्यवसायीको बिचल्ली बनाइयो ?,’ अध्यक्ष श्रेष्ठले भने, ‘जननिर्वाचित मेयरले शक्तिको दुरुपयोग गरे, आफ्नो कर तिरेको सम्पत्तिमा आफ्नो अधिकार किन हुन्न ?’

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षसमेत रहेका श्रेष्ठले मेयरको अभियानले दशैंको मुखैमा व्यवसायी माथि भएको अन्यायबारे साझा धारणा बनाउन संघको आपतकालीन बैठक बोलाइएको पनि बताए । उद्योगी व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले पनि यस विषयमा साझा धारणा बनाउने उनले बताए ।